मिस नेवाःभएपछि कृषाको आँखामा आँसु



नयाँ नेवार सुन्दरीका रूपमा आफ्नो नाम घोषणा भएपछि राजधानीको डल्लुकी कृषा महर्जनका आँखामा अनायासै आँसु झरे। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा १४ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेपछि उनको नयनमा हर्षांशु झरे।

प्रतियोगितामा कृषाले एनटी मिस नेवाः नेपाल ११४१ चुमेबापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन्। प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने अन्तिम स्पर्धाका उत्कृष्ट ७ जनालाई सोधेको साझा र निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पीडादायी हुने, मनमा लागेको घाउ डाक्टरले पनि पत्ता लगाउन नसक्ने र ठीक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने जवाफ दिएर नयाँ मिस नेवाः नेपालको ताज चुमेकी हुन्। उनी बेस्ट नेपाल भाषा उपउपाधिलाई पनि आफ्नो बनाइन्।नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार फस्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टिना महर्जन सेकेन्ड रनर्सअप चुनिए। उनीहरुले उपाधिबापत क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्। प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङको उपउपाधि पनि जिते।

रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्वमिस नेवाः नेपाल सुनीता डंगोलद्वारा रोचक ढंगले सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेसल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्वमिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए। नेवारी कला र संस्कृति झल्किने विविध रोचक झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेन्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनीषा महर्जन बेस्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल बेस्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जीवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन्। सहआयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सघाउनेहरुप्रति आभार व्यक्त गर्दै नेवारी कला संस्कृतिको जगेर्ना गर्न समय सुहाउँदो ढँगले सांस्कृतिक सौन्दर्य प्रतियोगिताअन्र्तगत मिस नेवाः नेपाल आयोजना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्