ब्वाइज युनियनको जितमा मिलनको ह्याट्रिक



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत ब्वाइज युनियन क्लबको जितमा मिलन लिम्बुले ह्याट्रिक गरेका छन् ।आइतबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युथ क्लबलाई ३–० ले हराएको हो ।

तीनै गोल मिलनले गरेका हुन् । यो जितसँगै ब्वाइज ८ खेलबाट १४ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा कायमै रहेको छ । पाँचौं स्थानमा रहेको नयाँबस्तीको भने ८ खेलबाट ११ अंक छ ।उक्त खेलमा मिलनले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल थपेर ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको २१औं मिनेटमा गोल गर्दै ब्वाइज युनियनलाई १–० को अग्रतामा राखे ।

उनले अरुण लिम्बुको क्रसमा विनोद राईले छाडेका बललाई नयाँबस्तीको जाली चुमाएका थिए ।यस्तै मिलनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । उनले ५७औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरेपछि ब्वाइज युनियन स्पष्ट ३ अंक जोड्न अग्रसर भएको थियो । यसपछिको बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ब्वाइज युनियनले खेल ३–० ले जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्