स्रोत व्यवस्थापन हुन नसक्दा ऋणात्मक बजेट



काभ्रे, (नेस) । 

पाँचखाल नगरपालिकाको आठौ नगर सभा सम्पन्न भएको छ । सभाले विभिन्न विधेयक तथा नीति प्रस्तुत गरी छलफल सहित पास गरेको छ । नगर प्रमुख एवं नगर सभा अध्यक्ष महेश खरेलले आर्थिक विधेयक २०७७ प्रथम शंशोधन, विनियोजन विधेयक शंशोधन, कृषि नीति, मदिरा रोकथाम तथा नियन्त्रण ऐन, संघ-संस्था दर्ता ऐन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएका सबै विधेयक तथा नीति र ऐन सर्वसम्वत पास भएका छन् ।

उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाले चालु आर्थिक वर्षको समग्र प्रगति प्रस्तुत गर्नु भएको थियो । उपप्रमुख दनुवारले शिक्षा तथा खेलकुद शाखाले सम्पादन गरेका कृयाकलापहरुमा संचालन गर्दाका राम्रा र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा, योजना तथा कार्यक्रम शाखा, रोजगार शाखा, प्राविधिक शाखा, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा, पशुपँक्षी शाखाले गरेका गतविधि र प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । लेखा शाखाले चालु वर्षको कुल बजेट चालु तर्फ ४१ करोड ७८ लाख ७५ हजार र पुँजीगत तर्फ ५५ करोड ४५ लाख ३५ हजार रुपैया मध्ये चालु तर्फ १५ करोड २५ लाख ५४ हजार र पुँजीगत तर्फ १० करोड १६ लाख २९ हजार रुपैया खर्च भएको जानकारी गराउनु भयो ।

नगरपालिकाले ३२ करोड रुपैया घाटाको बजेट बनाएकाले श्रोत अनुमान गरिए भन्दा घटेकाले कार्यक्रम भुक्तानीमा समस्या भएको र योजना सम्झौताको काम हुन नसकेको बताउनु भयो ।नगर प्रमुख महेश खरेलले नगरपालिकाले बालुवा र क्रसर खानी संचालनको अनुमती दिँदा नगरपालिकालाई झण्डै १० करोड आम्दानी हुने, ईटेण्डरबाट घटाघटमा १२ करोड रकम बच्ने र आन्तरिक श्रोतबाट केहि रकम जम्मा हुने अनुमान गरी ३२ करोडको घाटा बजेट बनाउँदा समस्या भएको बताउनु भयो । गत वर्ष १७ करोड घाटा बजेट बनाउँदा त्यसको श्रोत ब्यवस्थापन भएकाले त्यहिबाट हौसिएर घाटा बजेट बनाएको नगर प्रमुख खरेलले बताउनु भयो । वडा अध्यक्ष हरि खतिवडाले घाटा बजेटका कारण वडामा छनौट भएका योजनाहरु सम्झौता हुन नसकेको बताउनु भयो ।

वडा अध्यक्ष खतिवडाले नगरपालिकाले नगर समिति बनाउन नसक्दा शिक्षाका तमाम समस्याहरु समाधान र ब्यवस्थापन गर्न नसकेको, ऐनहरु छलफलका क्रममा समय अपुग भएको, घुम्ती ऋण प्रवाहमा समस्या भएको, अन्योल नै अन्योलका बीच घाटा बजेटले समस्या पारेको बताउनु भयो । वडा अध्यक्ष बालकृष्ण सापकोटाले कृषि शहर पाँचखाल नगरको नारा नारामा मात्रै सिमित भएकाले त्यसमा बजेट विनियोजन गरी कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष सञ्जय लामाले समृद्ध पाँचखाल निर्माणका लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।नगर सभा समापनका क्रममा नगर प्रमुख खरेलले वडा अध्यक्षहरुले उठानु भएका विषयलाई नगरले सम्बोधन गर्ने, पाँचखाल नगरको विकासका लागि तिनै तहका सरकार र संघ र प्रदेशका सांसदहरुसँगको समन्वय गर्ने, चालु वर्षमा रकम अपुग भएका योजनाहरु आगामी वर्ष निरन्तर रहने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्