शेयर कारोबारमा दोस्रो बजार भनेको के हो ?



कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १५–२० दिन भित्रमा लगानीकर्ताहरुलाई शेयर बाँडफाँड गर्दछ । शेयर बाँडफाँड गरेको ४–५ दिनमा प्राथमिक बजारमा जारी गरेको शेयरलाई नेप्सेमा सूचीकृत गर्दछ । प्राथमिक शेयरलाई नेप्सेमा सूचीकृत गरेपछि शेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ, त्यही स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको शेयर खरिदबिक्री गर्न सकिन्छ । यसप्रकार प्राथमिक बजारमा निष्कासन गरिएको शेयर पुनः बिक्री वा किनबेच गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ ।

नेपालमा नेपाल स्टक एक्सचेन्ज एकमात्र दोस्रो बजार हो । दोस्रो बजारमा शेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानीकर्ताबीच हुने भएकोले शेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहन्न । कानुनतः दुई लगानीकर्ता आफैं बसेर एक–अर्काबीचको समझदारीमा शेयरको किनबेच सम्भव नहुने भएकाले शेयरको किनबेच गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पूरा गरी खरिदबिक्री आदेश दिनुपर्दछ ।सो आदेशअनुसार ब्रोकरले शेयर किनबेच गरिदिने काम गर्छ । यसरी शेयर किनबेच गरिदिएबापत ब्रोकरले कानुनले तोकेबमोजिमको कमिसन लिने गर्छन् । दोस्रो बजारमा धितोपत्र किनबेच गर्न बैंक खाता, डिम्याट खाता र कारोबार खाता अनिवार्य छ । आफ्नो नाममा बैंक र डिम्याट खाता छैन भने पायक पर्ने बैंकमा खाता खोल्नुपर्छ । प्रायः बैंकले पनि डिपी सेवा दिने हुँदा सोही बैंकमा वा ब्रोकरकहाँ वा अन्य डिपी सेवाप्रदायककहाँ डिम्याट खाता खोल्न सकिन्छ ।

यसपछि बैंक र डिम्याट खाताको प्रमाण (स्टेटमेन्ट वा चिठी) सहित नागरिकताको फोटोकपी र फोटो लिएर अनुमतिप्राप्त स्टक ब्रोकरको कार्यालयमा गएर ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोबार खाता’ खोल्न सकिन्छ । ‘कारोबार खाता’ खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ । एकपटकमा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ ।यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको शेयर विद्युतीय प्रणालीबाट कम्प्युटर वा मोबाइलबाट हस्तान्तरण गर्न सीडीएस एनड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो शेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डीपी सेवा प्रदायकलाई वार्षिक शुल्क रु. ५० तिरेर ‘मेरो शेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।अनलाइन कारोबारका लागि भने ब्रोकरसँग थप सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोबाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ । साँच्चै किनबेच गर्नु केही दिन ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको तरिका, भुक्तानी विधि, शेयर छान्ने तरिका, लागत–लाभ र जोखिम बारेमा व्यावहारिक ज्ञान लिनु राम्रो हुन्छ । नेप्सेको वेबसाइट वा कम्पनी र अन्य अनलाइन साइटहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।
डिम्याट खाता भनेको के हो ? 
डिम्याट खाता भनेको शेयरको विवरण राख्ने खाता हो । जसरी बैंकले निक्षेपकर्ताको खाता खोली रकम जम्मा गरिदिने तथा झिक्ने सुविधा दिएको हुन्छ । रकम जम्मा गर्दा बैंकले खातामा जोड्ने र झिक्दा घटाउने काम गर्छ । त्यसै गरी शेयर कारोबार गर्न र शेयर कारोबारको विवरण राख्न केन्द्रीय निक्षेप प्रणालीमा हरेक शेयर लगानीकर्ताले खाता खोली विभिन्न कम्पनीको शेयर जम्मा गर्छन् । केन्द्रीय निक्षेप प्रणाली अर्थात् सिडिएस शेयरको बैंक हो । यो डिम्याट खातामा पनि शेयर खरिद गरेपछि खातामा जोडिने र बिक्री गरेपछी घट्ने हुन्छ । बिक्री गरी बाँकी रहेको शेयर डिम्याट खातामा मौज्दातको रुपमा रहन्छ ।तपाईंहरुले अहिलेसम्म पनि डिम्याट खाता खोल्नुभएको छैन भने आफूलाई पायक पर्ने ठाउँको कुनै पनि वाणिज्य बैंकको शाखा तथा ब्रोकर कम्पनीमा गएर डिम्याट खाता खोल्न सक्नुहुनेछ । यो खाता खोल्नलाई एउटा फोटो, नागरिकताको प्रतिलिपि र १५० रुपियाँको आवश्यकता पर्दछ र कतिपय बैंकहरुले उक्त बैंकमा बैंक खाता खोल्दा डिम्याट खाता निःशुल्क पनि खोलिदिन्छन् । डिम्याट खाता दुईभन्दा बढी खोल्नुहुँदैन ।

सेमी–अनलाइन प्रणालीबाट कसरी शेयर खरिद–बिक्री गर्ने ?

 ब्रोकर ब्याक अफिसमा विकास गरिएको नयाँ प्रविधिमा लगानीकर्ताले ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेटको सहयोगमा मोबाइल, कम्प्युटर, ईमेल र एसएमसमार्फत ब्रोकरको कार्यालयमा शेयर किनबेचको आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।यसका लागि लगानीकर्ताले सम्बन्धित ब्रोकरको कार्यालयबाट संकेत चिह्न र गोप्य नम्बर पासवर्ड लिनुपर्छ । लगानीकर्ताले यसरी पठाएको विद्युतीय मागलाई शेयर ब्रोकरले नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा प्रविष्ट गरेपछि खरिद आदेश र बिक्री आदेश मिलेमा किनबेच हुन सक्नेछ ।निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोबार प्रणालीका लागि यसलाई पूर्वअभ्यासको रुपमा पनि हेरिएको छ । यो प्रविधिको शुरुवातसँगै लगानीकर्तालाई दोस्रो बजारमा शेयर खरिदबिक्री गर्न ज्यादै सहज भएको महसुस गरिएको छ ।
मूल्यका कुरा 

शेयर बजारमा सबैभन्दा जटिल र विवादास्पद भनेको मूल्य हो । अन्य वस्तु तथा सेवामा जस्तो निश्चित मूल्य हुँदैन । एकै दिन एउटै धितोपत्रको समेत प्रत्येक कारोबारमा मूल्य फरक हुन सक्छ । आमरूपमा ब्रोकरले र केहीका अनुसार ठूला तथा संस्थागत लगानीकर्ताले शेयरको मूल्य निर्धारण गर्ने र उनीहरूले चाहेको मूल्यमा किनबेच गर्ने गलत बुझाइ पाइन्छ । वास्तवमा शेयरको माग तथा आपूर्ति अनि क्रेता र विक्रेताको आपसी समझदारीमा मूल्य निर्धारण हुन्छ । जबसम्म शेयर धारकले कुनै मूल्यमा बेच्न र उक्त मूल्यमा अर्को क्रेताले किन्न चाहन्न तबसम्म कारोबार नै हुन्न । ब्रोकरले क्रेता र विक्रेताले स्वीकारेको मूल्यमा किनबेच गरिदिने मात्र हो ।
किनबेच मूल्यका आधारमा कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृश्य सम्पत्ति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा मूल्यमा प्रभाव पार्ने प्रयास सबैले गर्छन् । किन्नेले माग घटाएर वा आपूर्ति बढ्ने र अनेक कुरा सुनाएर वा तर्साएर सस्तोमा बेच्न विक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच र मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेर वा आशा देखाएर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । त्यसैले लहैलहै र उक्साहटमा किनबेचको निर्णयबाट पछुताउनुभन्दा अलि बुझेर निर्णय लिन पनि व्यावहारिक ज्ञान र अध्ययन चाहिन्छ ।
– सौरभ गौतम, बुद्धनगर, काठमाडौं 

प्रतिक्रिया दिनुहोस्