जुधाइको क्रममा भालेकै कारण मालिकको मृत्यु



मद्रास, (एजेन्सी) ।

दक्षिणी भारतमा अवैध भाले जुधाइ अर्थात् ककफाइटका लागि कुुखुराको भालेमा जडान गरिएको धारिलो छुराको चोटको कारण सोही भालेको मालिकको ज्यान गएको छ । ती भाले आत्तिएर भाग्न खोज्दा उनको संवेदशील अंगनजिक छुरा प्रहार हुन पुगेको बताइएको छ ।उपचारको क्रममा अस्पताल लाँदै गर्दा अत्यधिक रक्तश्रावको कारण नाम नुखुलाइएका ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले सो अवैध खेल सञ्चालनमा संलग्न अन्य पन्ध्र जना व्यक्तिको व्यापक खोजी गरिरहेको छ ।

यो घटना केही दिनअघि तेलंन्गाना राज्यको लोथुनर गाउँमा घटेको हो । फार्ममा पठाइनु अघिसम्म त्यो कुखुराको भालेलाई पनि प्रहरी चौकीमा थुनेर राखिएको थियो । प्रहरीका अनुसार जुधाइका लागि तयारी अवस्थामा राखिएको बेला भाले अचानक भाग्न खोजेको थियो । पक्रिन खोज्दा भोलेको खुटामा बाँधिएको तीन इन्च लामो अत्यन्तै धारिलो छुराबाट ती मालिकलाई चोट लागेको थियो ।यस घटनामा सरिक व्यक्तिहरुविरुद्ध मानव हत्या, अवैध बाजी थापेको तथा भाले जुधाइ खेल आयोजना गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ ।

दि न्यु इन्डियन एक्सप्रेसका अनुसार सो भालेलाई अदालतमा प्रमाणको रुपमा पेस गरिनेछ । भारतमा सन् १९६०मा भाले जुधाइमाथि प्रतिबन्ध लगाइएको थियो । तैपनि अझैसम्म लुकिछिपी यो खेल खेलाइने गरिएको छ ।तर भारतमा भाले जुधाइको कारण कसैको ज्यान गएको यो पहिलो घटना भने होइन। गत वर्ष आन्ध्र प्रदेशमा पनि भालेको शरीरमा राखिएको ब्लेडले घाँटी काटिएर भालेको मालकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्