१७ हजार परिवारले गरे स्वास्थ्य बिमा



नेपाल समाचारपत्र, बैतडी ।

बैतडीमा हालसम्म १७ हजार बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो ।
स्वास्थ्य बिमा कार्यक्रम शुरु भएयता गएको ४ वर्षमा १७ हजार २ सय ८० परिवार स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्ड बैतडीका दर्ता अधिकारी जमन बडालले जानकारी दिनुभयो ।

जिल्लाका प्रत्येक वडामा दर्ता सहयोगी खटाएर नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने गरिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा गर्दा ५ जनासम्मको परिवारका लागि ३ हजार ५ सय बिमा शुल्क लाग्छ भने उनीहरुले १ लाख बराबरको निःशुल्क उपचार पाउने गर्दछन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप सदस्यअनुसार थप ७ सय बिमा शुल्क लिने गरेको छ भने थप २० हजार उपचार खर्च उपलब्ध गराउने गरेको छ ।

जेष्ठ नागरिक, एचआईभी संक्रमित, क्षयरोगका बिरामी, ‘क’ वर्गका अपांगता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको भने सरकारले निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेको छ । स्वास्थ्य बिमा गराएका नागरिकलाई सूचीकृत स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको छ । बिमा कार्यक्रमअन्तर्गत करिब ११ सय औषधि निःशुल्क दिने गरिएको छ । स्वास्थ्य बिमा गर्दा उपचारका लागि धेरै खर्च गर्नुपर्ने बाध्यताको अन्त्य हुने र पैसाको अभावमा उपचार रोक्नुपर्ने अवस्थाको समेत अन्त्य हुने बोर्डको भनाइ छ ।

सरकारले गरिब नागरिकको उपचार सेवा पहुँच पु¥याउनका लागि शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा २०७३ साल पुस ७ गतेदेखि स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुरू भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरू भएको थियो ।कार्यक्रमबाट बिमाकर्ताले सूचीकृत स्वास्थ्य संस्थाबाट बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ बढी किसिमका सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्