मेयर खत्रीको खुत्रुकेमा झण्डै ५ लाख



बुद्ध नेपाली, सिन्धुली ।

२०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट खड्गबहादुर खत्री कमलामाई नगरपालिकाको मेयरको पदमा निर्वाचित हुनुभयो । निर्वाचित भएर नगरपालिकाको मेयरको पदभार ग्रहण गरेपछि २०७४ जेठ १५ गतेका दिन एउटा खुत्रुके किनेर आफ्नो कार्यकक्षमा राख्नुभयो । त्यस दिनदेखि नगरपालिकाबाहेक अन्य निकायहरुको कार्यक्रम, बैठकलगायतमा सहभागी हुँदा पाएको भत्ता दैनिक त्यो खुत्रुकेमा खुत्रुक–खुत्रुक हाल्न थाल्नुभयो ।

व्यक्तिगतरूपमा पाएको भत्ता जम्मा गर्दै पछि धेरै पारेर आफ्नो व्यक्तिगत काममा लगानी गरौंला भन्ने उहाँको मनमा थिएन । उहाँले त्यो खुत्रुकेमा आफ्नो भत्ता जम्मा गर्नुको एउटै कारण थियो जम्मा भएको रकम सामाजिक कार्यमा लगानी गरौं भन्ने ।सामाजिक कार्य गर्नकै लागि उनले ७४ जेठ १५ गतेदेखि ७७ फाल्गुन १४ गतेसम्म करिब ३ वर्ष ९ महिनासम्म उहाँले प्राप्त भएको भत्ता खुत्रुकेमा हालिरहनुभयोे । ३ वर्ष ९ महिनाको अवधिमा त्यो खुत्रुके खोल्दा भत्ताको रकम ४ लाख ९७ हजार ७ सय २० रुपियाँ जम्मा भएको रहेछ ।

फाल्गुन १५ गते आफ्नो जन्मदिनको अवसर पारेर सोही रकमले सामाजिक काम गर्ने उद्देश्यसहित आफ्नो र श्रीमतीको नाममा ट्रस्टको स्थापना गर्नुभएको छ । उहाँले आफ्नो ५५औं जन्मदिनको अवसरमा खड्ग–शान्ता नवप्रवर्तन नामक ट्रस्टको स्थापना गरेर शिक्षा, स्वास्थ्य र वातावरणका पक्षमा काम गर्ने घोषणा गर्नुभएको छ ।साथै समाजमा राम्रा काम गर्ने व्यक्तिहरूलाई पनि ट्रस्टले सम्मान गर्ने उहाँले बताउनुभयो । ट्रस्टको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका जिल्ला सचिव सूर्य पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्री रहुनभएको छ ।

उहाँले उक्त ट्रस्टमा सहयोग गर्न चाहनेले दिएको रकम मात्रै जम्मा गरिने बताउनुभयो । बाँकी रहेको समयमा पनि आफूले पाएको भत्ताको रकम जम्मा गरेर सोही ट्रस्टमा जम्मा गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्