हिउँदे धान रोपाइँको चटारो, मजदूरको अभाव



हरिहर नेपाल, विराटनगर ।

मोरङको दक्षिणी क्षेत्रका किसान यतिखेर हिउँदे धान रोपाइँमा व्यस्त छन् । वर्षभरिमा तीन बाली भित्र्याउने उनीहरु माघ पहिलो सातादेखि नै हिउँदे धानबाली लगाउन व्यस्त भएका हुन् । मोरङको दक्षिणी क्षेत्रमा अवस्थित रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाका किसानलाई यतिखेर धान रोपाइँ गर्न भ्याइनभ्याई छ ।

यसपटक माघ महिनाभरि अत्याधिक चिसो बढेका कारण मजदुर नपाएकाले उनीहरुले समयमा हिउँदे धान रोपाइँ गर्न सकेनन् । निरन्तर हिउँदे धान रोपाइँ गर्दै आए पनि उक्त क्षेत्रमा सिँचाइको पर्याप्त सुविधा नभएका कारण आफूहरुले बोरिङबाट सिँचाइ गरी धानबाली लगाउने गरेको किसानले बताएका छन् । अहिले रोपाइँ गर्दै गरिएका धान यस क्षेत्रका किसानले जेठ अन्तिम सातासम्म काटिसक्छन् र त्यसपछि वर्षे धान लगाउने तयारीमा जुट्छन् । यतिखेर किसानले बजरंगी सहित स्थानीय भाषामा गरमा भनिने धान रोपाइँ गरिरहेका छन् । बर्षे बालीभन्दा हिउँदमा लगाइने गरमा धानले राम्रो उत्पादन दिने गरेको किसानको अनुभव छ । प्रतिबिघा १ सय मनसम्म गरमा धान फल्ने गरेको धनपालथान–५ की किसान लखियादेवीको भनाइ छ ।

यस क्षेत्रका किसानले बर्षभरिमा बर्षे र हिउँदेगरी दुई बाली धान र एकबाली दलहन समेत लगाउने गरेको बताएका छन् । यस क्षेत्रका किसान हिउँदमा गरेमा धान लगाउनुका साथै बंगलादेशमा फलाइने बोरो धानसमेत लगाउने गरेका छन् । बोरो धान नेपालमा मोरङको रंगेली र सुनवर्षी नगरपालिकामा मात्र लगाउने गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ । गएको बर्ष मोरङका किसानले २ हजार हेक्टर क्षेत्रफलमा बोरो धान लगाए पनि यस वर्ष घटेर एकहजार हेक्टरमा मात्र सो धान लगाइएको अनुमान गरिएको छ । मकै खेतीको बिस्तारसँगै बोरो धान लगाउने किसानको संख्या घटेको भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयलयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिनुभएको छ । धानको राम्रो उब्जनी हुने यसक्षेत्रमा किसानहरुलाई थप सहुलियत र सुबिधा उपलब्ध गराउनसके उब्जनी थप बढाउन सकिने कृषिविद्हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्