संगीत साधक अम्बर गुरुङको सम्झना



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार सांगीतिक प्रस्तुतिका साथ बालुवाटारस्थित प्रांगणमा एक समारोह आयोजना गरी प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रगानका संगीतकार तथा संगीत साधक स्व। अम्बर गुरुङको ८३औँजन्मजयन्ती मनाएको छ।प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको सभापतित्वमा सम्पन्न समारोहमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा ख्यातिप्राप्त अभिनेता हरिहर शर्माले स्व. अम्बर गुरुङ धेरै चिनारीको व्यक्तित्व भएको चर्चा गरे।

शर्माले अम्बर गुरुङ आप्mनो जीवन नै संगीतका माध्यमबाट राष्ट्रका लागि समर्पित गर्ने एक विशिष्ट व्यक्तित्वका भएको चर्चा गर्दै उनीद्वारा संगीतबद्व माया प्रेमका गीतदेखि राष्ट्रिय भावले ओतप्रोत गीत सबैमा एक किसिमको दार्शनिकताको आभाष हुने गरेको बताए। शमाले स्वर, संगीत र शब्द सबैमा पोख्त गुरुङ एक विशिष्ट साधक रहेको चर्चा गरे।

त्यसै गरी, गीतकार तथा पत्रकार रमण घिमिरेले गुरुङ संगीत क्षेत्रमा आत्मकेन्द्रित व्यक्तित्व भएको उल्लेख गर्दै दार्जिलिङमा रहँदाको उनको जीवन संघर्ष सुनाए। घिमिरेले संगीत साधक गुरुङ नौलाखा तारा उदायोबाट चर्चा कमाउन सफल भए पनि संगीत क्षेत्रबाट जीविको पार्जन हुने नदेखिएपछि कृषि कर्मतर्फ लाग्ने सोच बनाइरहँदा शंकर लामिछानेको संगतपछि फेरि संगीतकर्मलाई निरन्तरता दिएको स्मरण गरे।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा। देवी नेपालले गुरुङले संगीत सिर्जना गरेका हे कान्छा, म अम्बर तिमी धर्ती, समालेर राख सँगालेर राख, होसियार, समयको भीडमा आफूलाई चिन, मेरो आँखालाई राख्ने फूलबारी छैनजस्ता सदावहार गीतभित्रका दार्शनिक पाटोलाई उजागर गर्दै गुरुङ शब्द, संगीत र स्वरको त्रिवेणी भएको चर्चा गरे। प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले गुरुङका असल कर्महरूलाई थोरै भए पनि अनुकरण गर्न सक्नु नै उनीप्रतिको सच्चा सम्मान हुने औंल्याए।

कार्यक्रममा गायक–गायिकाहरु सञ्जय तुम्रुक, दुर्गा परियार र रूपक चौधरीले गुरुङद्वारा संगीतबद्व रातो र चन्द्र सूर्य गाएर सुनाए भने प्राज्ञ भरत नेपाली, धनबहादुर गुरुङ र लोकराज राईले वाद्यवादनमा नौ लखातारा आकाशमा, हे कान्छालगायतका अम्बर गुरुङद्वारा सिर्जित गीतका धुन सुनाए।

प्रतिक्रिया दिनुहोस्