स्व. आङ छिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने



काठमाडौं, (नेस) ।
यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यही फाल्गुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।
यती एअरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौं।’ –प्रवक्ता बर्तौैलाले भन्नुभयो । यती एयरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रानतर्फका विजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेस्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यती एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एन्ड डाउनी रहेका छन् । टुर्नामेन्टको मुख्य आयोजकका रुपमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् ।यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २७ फेब्रुअरी २०१९ अर्थात् विसं २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । स्व. शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै छाप र परिचय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्