बागमतीमा नकआउट फुटबल तयारी तीव्र



हेटौंडा, (नेस) । 

मकवानपुरको बागमती गाउँपालिकामा फागुन २० गतेदेखि हुने खुला नकाउट फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बागमती–५, ज्यामिरेमा रहेको ग्रामीण बहुउद्देश्यीय समाज नेपालको आयोजनामा बागमती गाउँपालिका वडा नम्बर–४ को झुरझुरे खेलमैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको समाज अध्यक्ष चित्रबहादुर पुलामीले बताए ।

उनले प्रतियोगितामा २० टिम सहभागी हुने अपेक्षा गरे । खेलमैदान मर्मतसम्भारलगायत काम तीव्रगतिमा हँुदै छ । संस्था सचिव केदार थापाका अनुसार यस हप्तादेखि फुटबल मैदानमा पानी हाल्दै तथा सम्याउने काम भइरहेको छ । मैदान वरपर सरसफाइदेखि मर्मतसमेत शुरु भएको उनले बताए ।संस्थाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यसाथ फुटबल प्रतियोगिता आयोजना गरेको सचिव थापाले बताए । प्रतियोगिता विजेता टिमले १ लाख र उपविजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, प्लेयर अफ दि टुर्नामेन्ट र म्यान अफ दि म्याच हुने खेलाडीलाई पनि पुरस्कार व्यवस्था रहेको आयोजकले जनाएको छ । २०५३ सालमा स्थापित संस्थाले खेलकुदसँगै समाजका अन्य उत्तरदायित्व वहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्