दुर्लभ भोटेलहराको बासस्थान खोजिँदै



नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडामा स्थापित वनस्पती अनुसन्धान केन्द्र ‘भोटेलहरा’ नामक वनस्पतीको बासस्थान खोजी कार्यमा जुटेको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतीको अन्तर्राष्ट्रिय व्यापार महासन्धि साइटिसको सूचीमा रहेको भोटेलहरा हाल पाउनै मुस्किल छ ।धेरै वर्षअगाडि मकवानपुरमा भोटेलहरा रहेको अभिलेखमा भेटिएका कारण खोजीमा लागिएको कार्यालय प्रमुख रघुराम पराजुलीले जानकारी गराउनुभयो । ‘कार्यालयको अभिलेख हेरेर भोटेलहरा खोजी शुरु गरेका छौं ।’ –उहाँले भन्नुभयो ।

वनस्पती विभागको अभिलेखमा उक्त वनस्पती मकवानपुरमा रहेको थाहा पाएर भोटेलहरा खोजी शुरु गरेको बताउँदै कार्यालय प्रमुख पराजुलीले भोटेलहरा जस्ता दुर्लभ वनस्पतीको प्राकृतिक बासस्थान खोज्ने कार्य भइरहेको बताउनुभयो । यो अन्तर्राष्ट्रिय महŒवको वनस्पती हो । यो एन्जिओस्पर्म जस्तै देखिने जिम्नोस्पर्म वर्गको वनस्पती रहको उहाँको भनाइ छ ।साइटिसअन्तर्गत तीन अनुसूचीमध्ये भोटेलहरा तीन नम्बरको अनुसूचीमा पर्दछ । जुन, दुर्लभ वनस्पती भनेर चिनिन्छ । यो वनस्पती यसअघि तनहुँ र संखुवासभामा फेला परेको बताइएको छ ।
दुर्लभ तथा लोप हुने अवस्थामा पुगेका वनस्पतीको बासस्थान संरक्षणमा जोड दिने उद्देश्य प्रमुख रहेको उहाँले बताउनुभयो । कार्यालयले बहुआयामिक ढंगबाट वनस्पती अध्ययन, अनुसन्धान, संवद्र्धन, प्रवद्र्धन गर्दै अगाडि बढ्ने प्रयास गरिरहेको र भविष्यमा वनस्पती स्रोतको सही सदुपयोग गरी यसलाई उत्पादनसँग जोडेर राज्यको कुल गार्हस्थ उत्पादनमा केही मात्रामा भए पनि योगदान गर्न सक्ने गरी कार्य अगाडि बढाइरहेको पराजुली बताउनुहुन्छ ।

वनस्पती स्रोतको सर्वाङ्गीण विकास, सदुपयोग र राज्यको कुल गार्हस्थ उत्पादनमा वनस्पती स्रोतलाई मूलप्रवाहीकरणका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि विकास र प्रविधि हस्तान्तरणका लागि कार्यालय स्थापना भएको हो ।सम्पदालाई कसरी सदुपयोग गर्ने भन्नेबारे वनस्पतीको औषधीय, व्यावसायिक गुण र अन्य घरेलु प्रयोजनका अन्य औद्योगिक प्रयोजनका गुण के–के छन् भनेर पत्ता लगाउन भोटेलहरा नामक प्राकृतिक सम्पदा पहिचान गरेर अनुसन्धानशालामा जाँच गरिनेछ ।पहिचानपछि प्राकृतिक सम्पदा अनुसन्धानशाला र विभिन्न प्रयोगशालामा त्यसको गुण र दोष पहिचान गरेर औषधीय गुण वा उपयोगी गुण छन् भने भोटेलहरालाई व्यावसायिक रुपान्तरण र उपयोग कसरी गर्न सकिन्छ भन्ने अनुसन्धान गरिनेछ ।

‘व्यावसायिक प्रयोजनमा लैजान सकिने उत्पादनका लागि अनुसन्धान केन्द्रहरुमार्फत जडीबुटीका बेर्ना उत्पादन, वितरण र व्यापक खेती शुरु गरिनेछ । त्यसको प्रशोधन गरेर भोटेलहराको सारतत्वलाई विदेश लगेर निर्यात पनि गर्न सकिने सम्भावनाको ढोका खोल्न हामी तत्पर छौं।’ –पराजुली भन्नुहुन्छ ।भोटेलहराको एउटामात्र गुण नहुन सक्छ । यसलाई समाजको संरचनाले मनोरञ्जनस्थलका रूपमा उद्यानहरु निर्माण गरेर, विभिन्न किसिमले फुलाएर सजावट गरेर त्यसमा संस्कृति समावेश गरी मनोरञ्जन दिन र संस्कृतिलाई धान्ने परम्परा पनि बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्