मिडिया एक्सन नेपालमा फेरि पन्त



नेपाल समाचारपत्र, काठमाडौं ।

अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा पुनः सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन भएको हो ।सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदै छ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भए पनि अहिले मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको र कतिपय अनलाइन दर्ता नै नभई सञ्चालन भइरहेकाले नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिनुभयो ।

त्यसैगरी, राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको जनाउँदै कोरोना महामारीका बेला अनेक खालकासूचना दिँदा नागरिक त्रसित बनेको टिप्पणी गर्नुभयो ।
अधिवेशनले अध्यक्ष पन्तका साथमा उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसीलाई चयन गरेको छ । साथै, सदस्यहरुमा यमबहादुर दूरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र तथा सातवटै प्रदेशमा संयोजक नरेन्द्र ढकाल, हदिस खुद्दार, मधुसूदन दवाडी, सुनिता आचार्य, सञ्जु पौडेल, ललित बुढा र उमाकान्त जोशी क्रमशः एक, दुई, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि छानिनुभएको छ ।

यसैगरी संस्थाको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, ध्रुवहरि अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीको नाम उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्