सरकार तत्काल ढल्दैन : मन्त्री गुरुङ



चिरञ्जीवी मास्के, काठमाडौं ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गर्नुभएको छ । काठमाडौंमा भएको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को २७औं वार्षिक साधारणसभाको उद्घाटन गरेपछि उहाँले सो कुरा बताउनुभएको हो ।

दूरदृष्टि तथा उच्च मनोबलका धनी नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार कमजोर नभएकाले हल्ला गर्दैमा या प्रयत्न गर्दैमा ढल्दैन’, मन्त्री गुरुङले भन्नुभयो– ‘हामीले सर्वोच्चको फैसलाको उच्च सम्मान गरेका छौं र सोहीअनुसार प्रतिनिधिसभामा वर्तमान परिस्थितिको उच्च मनोबल र एकताका साथ सामना गर्छौं ।’

विकास र समृद्धिको नारासहित काम गरिरहेको सरकारलाई अवरोध गर्न थालेपछि नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटनकोसिफारिस गरिएको तर त्यसलाई सर्वोच्चले उल्टाएपछि सरकार नयाँ परिस्थितिअनुसार अघि बढिरहेको उहाँको भनाइ छ ।सरकार डिजिटल फ्रेमवर्क प्रविधिअनुसार अगाडि बढिरहेको र सोहीअनुसार फेसलेस, पेपरलेस अभियानमा सक्रिय रहेको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि क्यानको सहयोगको आवश्यक रहेको जनाउनुभएको छ । सरकारले शुरु गरेको नागरिक एपले अब सबै काम आफ्नो मोबाइलबाटै सम्भव हुने अवस्था बनेको छ ।

सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्र र भूगोलमा इन्टरनेटको पहुँच विस्तार गरेको उल्लेख गर्दै मन्त्री गुरुङले प्राविधिकरूपमा हिमाली तथा पहाडी क्षेत्रमा केही समस्या रहेको भए पनि क्यानलगायतका संस्थासँग मिलेर त्यस्ता समस्या समाधान गरिने बताउनुभयो ।देशका हरेक विद्यालयमा कम्प्युटर पुगेको भए पनि इन्टरनेटको पहुँच र प्राविधिक कठिनाइका कारण त्यसको उपयोग नभएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारले प्रयत्न गरिरहेको मन्त्री गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्