कहिलेसम्म यस्तो ?



देश विकास र परिवर्तनसँगै समृद्धितर्फ उन्मुख भएको हेर्ने रहर कसलाई नहोला र ? जहिलेदेखि थाहा पाउने भएँ देशको समृद्धिभन्दा दुर्गति अर्थात् भौतिक संरचनाहरुसँगै हरेक मानवको मानसिक अवस्था पनि तहसनहस हुँदै गएको देखेको छु । किनकि देश र जनताको सेवा गर्ने कसम खाएका असल कर्मचारीहरु पनि खै किन हो नागरिकप्रति त्यत्तिको बफादार देखिँदैनन् ।

यो नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या पनि हो । यसै समस्यालाई निमिट्यान्न पार्नका लागि पनि देशमा समय–समयमा राजनीतिक उथलपुथल हुँदै आएको छ ।समय फेरियो, अवस्था फेरिएको छ, तर पनि जनताका समस्या जहाँको त्यहीँ नै रहेका छन् ।आज पनि आमनागरिकले आफ्नो काम गर्न र गराउन बिचौलियाको सहारा लिनै परेको अवस्था छ । त्यति मात्र होइन, सरकारी सेवाप्रवाह गर्नुपर्ने ठाउँमा पनि सेवाग्राहीको पोशाकको आधारमा, नातागोता, सम्बन्ध र राजनीतिक पहुँचको आधारमा काम हुने गरेका छन् ।विगतलाई हेर्ने हो भने देशमा आमूल परिवर्तन आएकै मान्नुपर्छ । किनकि हिजोको तुलनामा आज महिलाहरुलाई हेर्ने र गरिने व्यवहारमा केही सकारात्मक परिवर्तन आएको मान्नै पर्छ । त्यति मात्र होइन, समुदायमा पनि वा भनौं नीति नियममा पनि महिला अधिकारका कुरामा केही परिमार्जन भएकै छन् भने हरेक क्षेत्रमा केही न केही परिमार्जन भएकै मान्नुपर्छ । तर पनि जसरी देश संघीयतामा प्रवेश ग¥यो, त्यसपछि बोलिएका हरेक नेतागणका आवाजहरु थिए ती सबै आज बोलीमा मात्र सीमित भए कि भन्ने आभास हुन थालेको छ ।

म कुनै पार्टीको कार्यकर्ता पनि होइन र कसैको कामप्रति आग्रह र पूर्वाग्रहका साथ यो लेखेको पनि होइन । जीवनमा धेरै त्यस्ता कुरालाई देखेको छु, जहाँ साँच्चिकै पीडितले पीडा भोगिरहेकै छ, उनीहरुको स्तर हिजो जहाँ थियो आज पनि त्यहीँ नै रहेको छ ।साँच्चिकै परिवर्तन केका लागि र किन भएको थियो त ? मनमा अनगिन्ती प्रश्नहरु उठ्ने गरेका छन् ।किनकि हिजोका दिनमा हरेक नागरिकले न्याय पाउँछन्, अधिकारबाट कसैलाई वञ्चित गरिनेछैन, विभेद कसैले कसैलाई गर्नेछैन भन्दै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने भन्दै प्रचार गरियो । तर आजका दिनमा पनि शासन व्यवस्था त उस्तै नै रहेको छ, हिजोका दिनमा भनेजस्तो अधिकार र दरबार कता हरायो कुन्नि, सिंह भने गाउँमा प्रवेश गरेकै छ ।

धेरै लम्बिने र हावा कुरै होइन यो ।किनकि म यहीँको बासिन्दा हुँ । सडकको बिजोग अवस्था र खोलामा समयमा पुल नबन्दा नागरिकले भोग्नुपरेको पीडा, स्वास्थ्य उपचारका लागि नजिकैको छिमेकी मुलुक धाउनुको पीडा, स्थानीय उत्पादनलाई प्राथमिकताका साथ उद्योग प्रवद्र्धनका सवालमा सरकार मौन बनिदिँदा युवा विदेश पलायन हुनेदेखि अनेकौं समस्यालाई सबैले सहर्ष स्वीकार गर्दै बसेको मैले दैनिकरुपमा देखेको छु ।
– दिनेश कोइराला, अर्घाखाँची 

प्रतिक्रिया दिनुहोस्