हाइटीको कारगारबाट सयौं कैदी फरार



पोर्ट–ओ–प्रिन्स, (एजेन्सी) ।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सनजिक रहेको एउटा कारगारबाट चार सयभन्दा बढी कैदी फरार भएका छन् । बिहीबार क्रोइक्स–डेस–बोकेट्स कारागारबाट त्यहाँका निर्देशकलगायत सयौं कैदी भागेपछिको सुरक्षा कारबाहीमा कम्तीमा २५ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले उक्त सुरक्षा कारबाहीमा केही निर्दोष सर्वसाधारण बटुवा पनि मारिएको बताएका छन् । भागेकामध्ये आर्नेल जोसेफ नामक एक शक्तिशाली तथा कुख्यात ग्याङ लिडर पनि भागेको केही घण्टापछि मारिएका छन् ।हतकडी लाएकै अवस्थामा एउटा मोटरसाइकल चालकको पछाडि बसेर भाग्दै गर्दा एउटा चेकप्वाइन्टमा उनलाई मारिएको थियो । मोटरसाइकल नरोकीकनै भाग्ने क्रममा उनले प्रहरी समूहमाथि गोली चलाएका थिए ।

सन् २०१९ मा पक्राउमा पर्नुअघिसम्म उनी हाइटीको सर्वाधिक खोजीमा रहेका अपराधी थिए ।सन् २०१२ मा निर्माण गरिएको तथा अधिकतम ८ सय ७२ जना कैदी क्षमता रहेको यस कारगारमा १ हजार ५ सयभन्दा बढी कैदी कोचिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्