नाइजेरियामा तीन सयभन्दा बढी छात्रा अपहरित



अबुजा, (एजेन्सी ।

उत्तर पश्चिमी नाइजेरियास्थित एउटा विद्यालयबाट अज्ञात बन्दुकधारीहरुले तीन सयभन्दा बढी छात्राको अपहरण गरेका छन् । प्रहरीले शुक्रबार बिहान जाम्फारा राज्यको जान्जेवेस्थित एउटा आवासीय विद्यालयबाट अपहरण गरिएका तिनीहरुलाई जंगलतर्फ लगिएको हुनुपर्ने दाबी गरेको छ ।

पछिल्ला केही साताभित्र विभिन्न विद्यालयहरुमा भएकामध्ये भएको यो सबैभन्दा ठूलो अपहरण काण्ड भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।सशस्त्र समूहहरुले प्रायशः फिरौती रकम असुलीका लागि विद्यालयका बालबालिकाहरुको अपहरण गर्ने गरेका छन् । यस काण्डलाई लिएर नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले भनेका छन्– ‘यो घटना अमानवीय र पूर्णतः अस्वीकार्य छ । ठूलो रकम असुलीका लागि निर्दोष विद्यार्थीहरुको अपहरण गर्ने अपराधी समूहहरुसमक्ष सरकार झुक्ने छैन । हाम्रो पहिलो प्राथमिकता भनेको अपहरित सबैलाई जीवित र सकुशल अवस्थामा मुक्त गराउनु हो ।’

गत साता मात्र नजिकको नाइजर राज्यबाट अपहरित २७ विद्यार्थीसहित कम्तीमा ४७ जना अझैसम्म मुक्त हुन सकेका छैनन् । सन् २०१४ मा अतिवादी इस्लामिक समूह बोको हरामले नाइजेरियाका विभिन्न विद्यालयबाट सयौं छात्रालाई अपहरण गर्दा अन्तर्राष्ट्रिय जगत्ले निकै आलोचना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्