अमेरिकाद्वारा साउदी युवराजमाथि हत्याको आरोप



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी गुप्तचर निकायको एक प्रतिवेदनमा सन् २०१८ मा निर्वासित साउदी पत्रकार जमाल खासोगीको हत्याका लागि साउदी युवराज मोहम्मद विन सलमानले आदेश दिएको तथ्य उल्लेख गरिएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जाय बाइडेनको सरकारले युवराज सलमानले खसोगीलाई ‘पक्रने वा हत्या गर्ने’ योजनाका लागि स्वीकृति दिएको जनाएको छ ।

टर्कीको इस्तानवुलस्थित साउदी कूटनीतिक नियोगमा भएको खसोगीको हत्याकाण्डको सिलसिलामा अमेरिकाले सलमानबाहेक साउदीका दर्जनौं नागरिकमाथि नाकाबन्दी लगाउने घोषणा यसअघि नै गरिसकेको छ ।तर साउदी अरेबियाले अमेरिकाको यस प्रतिवेदन नकारात्मक, झुठो र अस्वीकार्य भएको बताएको छ । साउदी अरेबियाको प्रभावशाली शासककै रुपमा रहेका युवराज मोहम्मदले पनि उक्त हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको पुरानै अडान दोहो¥याएका छन् । हत्यापछि खसोगीको शव काटिएको थियो ।

५९ वर्षीय पत्रकार खसोगी कुनै समय साउदी सरकारका सल्लाहकारसमेत रहेका थिए । साउदी शाही परिवारसँगको सुमधुर तथा निकट सम्बन्धमा चिसोपना आएपछि उनी सन् २०१७ मा अमेरिकामा स्वनिर्वासित भएका थिए । उनले दि वासिङ्टन पोस्टमा नियमितरुपमा स्तम्भ लेख्दै आएका थिए । सन् २०१७ देखि नै सलमानले साउदी सरकारमा निर्णायक भूमिका खेल्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्