सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधी तुरतुरेका भरतलाई



मिला दरै, तनहुँ ।

रोट-याक्ट क्लव अफ दमौलीद्वारा आयोजित १८औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधी भानु नगरपालिका–३ तुरतुरेका २३ वर्षीय भरत गुरुङले जित्नुभएको छ । दमौलीबाट छाब्दी बाराही मन्दिरसम्मको नौ किलोमिटर दुरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत गुरुङ्ग १८औं सचिन स्मृति खुला दौड प्रतियोगिताको विजेता बन्नुभएको हो । उहाँले प्रतियोगिताको उपाधि सहित १० हजार १० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

छाब्दी बाराही मन्दिरसम्म ताकिएको ९ किलोमिटर दुरी ३२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै गोर्खाको सिरानचोक गाउँपालिका–३ का २३ वर्षीय दिनेश बोगटी प्रतियोगितामा द्वितीय हुनुभएको छ । बोगटीले ८ हजार ८ रुपैयाँ पाउनुभएको छ । त्यसैगरी ३२ मिनेट ५० सेकेण्डमा सोही दुरी पार गर्दै धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय बिरेन्द्र प्रसाद भट्टराई प्रतियोगितामा तृतीय हुनुभएको छ ।

उहाँले ६ हजार ६ रुपैयाँ प्राप्त गर्नुभएको छ । त्यसैगरी ३३ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्नुभएका संगम घर्ती सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा सबैभन्दा कान्छा धावक सन्ततिले ४२ मिनेटमा दूरी पूरा गर्नुभएको थियो । यस्तै पहिलो महिला धावक व्यास–१० दुम्सीचौरका नम्रता गुरुङले ४३ मिनेटमा दुरी पार गर्नुभएको थियो ।

कार्यक्रममा विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर अधिकारी तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण प्रदान गर्नुभएको थियो । विगत वर्षहरुमा दमौलीबाट घाँसीकुवासम्मको दुरीमा दौड प्रतियोगिता गर्दै आएको क्लबले यसपाली भने रुट परिवर्तन गरेर छाब्दीसम्मको रुट तय गरेको हो ।

अनशन चोकबाट शुरु भएको दौड गल्बुवेशी, भादगाउँ टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिएको थियो । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रतिभावान युवा गुमाएको अवस्थामा रोट¥याक्टको प्रतियोगिताले सचिनलाई जिवन्त राखेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्