सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन



पाँचथर । जिल्लाका सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको हो । दुवै गाउँपालिकाका मुख्य स्थानमा केन्द्रीय प्रसारण लाइन जोडिएपछि केही सातामै घरघरमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रका प्रमुख साजन महर्जनले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रले याङ्वरक गाउँपालिकाका वडा नं १, २ र ३ मा विद्युत् लाइन विस्तार गरी सोमबारसम्ममा लाइन चार्ज गर्न लागेको छ । यहाँ विस्तार गरिएको विद्युत् प्रसारण लाइनले जिल्लाको सुदूर उत्तरी क्षेत्र च्याङ्थापु र फलैँचाका विभिन्न बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउने छ । यस्तै आगामी साता फालेलुङमा लाइन चार्ज गर्ने तयारी भइरहेको केन्द्रका प्रमुख महर्जनले बताउनुभयो । “फालेलुङको क्षेत्र निकै ठूलो भएकाले छिट्टै विद्युत् विस्तार गर्ने प्रक्रियामा पु¥याउँछौँ”, महर्जनले भन्नुभयो ।

फालेलुङको वडा नं ३ देखि ८ सम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने तयारी गरिएको हो । सो गाउँपालिकाका बाँकी दुईटा वडामा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएको छ । जिल्लाका हिलिहाङ, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा एक वर्षअघि नै केन्द्रीय विद्युत् प्रसारण लाइन जडान भइसकेको छ । यी गाउँपालिकाका कतिपय स्थानमा प्राधिकरणको वितरण केन्द्रले विद्युत् जडान गरेको छ भने केही स्थानमा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएका छन् ।

फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा भने दशकअघि नै फिदिममै उत्पादित विद्युत् जडान भएको थियो । स्थानीय तहका सबै घरमा भने विद्युत् जडान हुन सकेको छैन । केन्द्रीय प्रसारण लाइन विस्तार हुन बाँकी दुई गाउँपालिकामा समेत लाइन विस्तार भएपछि जिल्लाका सबै घरमा विद्युत् विस्तार गरी पूर्ण विद्युतीकरण भएको जिल्ला घोषणा गर्ने तयारीसमेत अगाडि बढाइएको छ ।

जिल्लामा डेढ दर्जनभन्दा बढी विद्युत् सहकारी संस्थाले ग्रामीण विद्युतीकरणको कार्यलाई अगाडि बढाउँदै आएका छन् । केन्द्रीय प्रसारण लाइन विस्तार हुनु पूर्व फिदिममा फिदिम साना विद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गरी फिदिम नगरपालिका क्षेत्रसहित कुम्माक गाउँपालिकामा समेत विद्युतीकरणको कार्य गर्दै आएको थियो ।

सो सहकारीले यहाँका करीब ७६०० घरमा विद्युत् जडान गरेको छ । ग्रामीण विद्युत् सहकारी संस्थाले सरकारको ९० प्रतिशत तथा सहकारी र उपभोक्ताको १० प्रतिशत लागतमा विद्युतीकरणका कार्य अगाडि बढाउँदै आएका छन् । विद्युत् प्राधिकरणबाट विद्युतीकरणको कार्य शुरु हुन नसकेका बेला सहकारीको अगुवाइ विद्युतीकरणका कार्य शुरुआत भएका थिए ।

प्राधिकरणले फिदिममा वितरण केन्द्र स्थापना गरेपछि प्राधिकरण, सहकारी र प्राधिकरणको काबेली कोरिडोर ग्रामीण विद्युतीकरण आयोजनाबाट विद्युतीकरण कार्य हुँदै आएका छन् । “हालसम्म ८५ प्रतिशत घरधुरीमा विद्युत् जडान गर्ने पूर्वाधार तयार भएका छन्”, प्राधिकरणको फिदिम वितरण केन्द्रका प्रमुख महर्जनले भन्नुभयो, “यसै वर्ष पूर्ण विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।”

तीनवटा निकायबाट विद्युतीकरण कार्य हुँदै आएकाले यकीन तथ्याङ्क तयार हुन सकेको छैन । वितरण केन्द्रले सहकारी संस्थाबाट विद्युतीकरणको कार्य हुन नसकेका स्थानमा काम गर्दै आएको छ । दुई वर्षअघि स्थापना भएको वितरण केन्द्रबाट हालसम्म करीब ७१०० घरमा विद्युत् विस्तार भएको छ । “फागुन मसान्तभित्र वितरण केन्द्रबाट थप तीन हजार घरमा विद्युत् जडान हुन्छ”, केन्द्रका सूचना अधिकारी सनोज यादवले भन्नुभयो, “सहकारीले उत्तिकै तीव्र गतिमा काम गरिरहेका छन् ।”

प्रायःजसो सहजरुपमा विद्युत् लाइन विस्तार हुनसक्ने ठाउँमा सहकारी गठन भई विद्युतीकरणका कार्य हुँदै आएका छन् । विद्युत् प्राधिकरणले काबेली करिडोर ग्रामीण विद्युतीकरण आयोजनाबाट पाँचथरसहित इलाम र ताप्लेजुङका विशेष क्षेत्रमा विद्युतीकरणको कार्य गर्दै आएको छ । पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा उक्त आयोजनाले पाँचथरमा विद्युतीकरणमा थप लगानी गरिरहेको छ । सांसद् र मन्त्री नरहेका अवस्थामा समेत नेम्वाङले ग्रामीण विद्युतीकरणका लागि पहल लिँदै आउनुभएको थियो । फलस्वरुपः पाँचथरमा छिमेकी जिल्लाभन्दा अघि नै विद्युतीकरण पूरा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्