सहकारीमार्फत होटल सञ्चालन



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ खोपारामा सहकारी संस्थामार्फत होटल सञ्चालन गरिएको छ । खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको पाउद्वार पर्यटन सहकारी संस्थाले पदमार्ग शुरु गर्ने तयारी गरेको छ ।

पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो । “राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौँ”, उहाँले भन्नुभयोे,“पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीयस्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौँ ।”

यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । होटलका संरचनाको मूल्याङ्कन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता भएको छ ।

गाउँपालिकामा पहिलो पटक दर्ता भएर यही फागुन ११ गतेदेखि सञ्चालन भएको सहकारीमा हाल पाउद्वारका १२३ जनाले रु ८८ लाख शेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारीमार्फत गरिने भएको छ ।

होटलको आम्दानीलाई सञ्चालन खर्च कटाएर मुनाफाका रुपमा शेयर सदस्यलाई वितरण गरिनेछ । विद्यालयअन्तर्गत सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिएपछि सहकारी मातहत ल्याइएको अध्यक्ष तिलिजाले बताउनुभयो । विसं २०७६ मङ्सिर महिनादेखि प्रस्तावित सहकारीलाई होटल व्यवस्थापनको जिम्मा लगाइएको थियो । सहकारी मातहत आएको एक वर्षको अवधिमा होटलले रु ३१ लाखको कारोवार गरेको छ ।

बाह्र कोठे होटलको क्षमताले पाहुनाको चाप थेग्न नसकेपछि रु २६ लाख खर्चेर आठ कोठे नयाँ भवन निर्माण गरेर क्षमता बढाएका छन् । पहाडको शिरमा भिरालो भूगोलमा अवस्थित खोपाराबाट सूर्योदय, हिमाल, वनजङ्गलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । खोपारा क्षेत्रमा परिएको चौरी र भेडापालन यहाँको थप आकर्षण भएको सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्