शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने



काठमाडौँ  ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।

यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ”, प्रवक्ता बर्तौैलाले भन्नुभयो । यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।

उक्त प्रतियोगितामा रजिस्ट्रेशन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलायन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्