उद्यमशीलताको विकास गर्न ‘आफन्त’ सञ्चालन



काठमाडौं, (नेस)
लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रवद्र्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा। बैकुण्ठ अर्यालले सार्वजनिक गर्नुभयो ।

सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्घता जनाउँदै भन्नुभयो–‘एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकोस् । प्रयोगकर्ताहरुलाई सजिलो होस् ।’

वेवसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।
कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उहाँको भनाइ छ ।

विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैर नेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले बताउनुभयो ।अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्