थप पाँच हजार क्विटल धान खरिद गर्दै सरकार



११एमएनपी-४२- नवीन मंडी में धान की तौल करते मजदूर

कृष्णउदास खनाल, वीरगन्ज  ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जले चालू आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।

शाखाले चालू आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरीदको कोटा पाएकोमा हालसम्म ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने सोे कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिनुभयो । कम्पनीले जिरा मसिनो धान ५ हजार क्विटल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म ३ लाख ३८ हजार ४३० मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ ।

नेपालभन्दा भारतमा जिरा मसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरा मसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो । जिरा मसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताउनुभयो ।संघीय सरकारले यस वर्ष किसानबाट प्रति क्विटल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरीद गर्न थालेका छन् । सोना मन्सुली धान प्रति क्विटल रू। २ हजार ८८५ तथा जिरा मसिनो धान प्रतिक्विटल २ हजार ९०० रुपियाँमा खरिद गर्न थालेको छ ।

अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विटल सोना मन्सुली धान तथा ३२ क्विटल २५ किलो जिरा मसिनो धान खरिद गरेको थियो । पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् । अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्