बगनासकाली जिल्लाकै पहिलो खरको छानारहित पालिका



नेपाल समाचारपत्र, पाल्पा  ।
विगत तीन वर्षदेखि गाउँपालिकाभित्र रहेका खर (फुस) का छाना भएका घरहरुलाई विस्थापित गरी खरको छानामुक्त गर्ने उपक्रममा लागेको बगनासकाली गाउँपालिकाको उद्देश्य अन्ततः सफल बनेको छ । पालिकाभित्र फुसको छाना भएका परिवारलाई टिनको छाना बनाएर खरको छानाविहीन गाउँपालिका बिहीबार घोषणा गरेको हो । आर्थिक वर्ष २०७४-०७५ मा यक्त अभियान शुरु गरिको थियो ।यसअघि पालिकाबासीले हुरी–बतास, आगलागी र वर्षात्का बेला छाना चुहिने समस्या भोग्दै आएका थिए ।जिल्लाका अरू स्थानीय तहहरुले पनि यस्तै खालको अभियान शुरु गरेका थिए । तर, सबैलाई उछिनेर यस अभियानमा बगनासकाली गाउँपालिका जिल्लाकै पहिलो बनेको छ ।

फुसको छानोरहित अभियान गत वर्षभित्रै पूरा गर्ने लक्ष्य गाउँपालिकाको थियो तर, कोरोनाका कारण घोषणा गर्न ढिलाइ भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । ‘ढिलो भए पनि अभियानले सफलता पायो यो गर्वको विषय हो ।’ –उहाँको भनाइ छ ।गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा फुसहित घरका लागि विनियोजित १५ लाख रुपियाँ बजेटबाट यो अभियान शुरु गरेकोमा अभियान सकिँदासम्म २ सय ५२ घरलाई जस्तापाता सहयोग गरिएको छ । यसका लागि ७ सय ५६ बन्डल जस्तापाता वितरण गएिको थियो । जसका लागि गाउँपालिकाले ६९ लाख रुपियाँ बराबरको जस्तापाता वितरण गरेको जनाएको छ । वितरित जस्तापाता टोल–टोलसम्म पु¥याउनसमेत गाडीको व्यवस्था गाउँपालिकाले नै गरेको थियो ।

अभियानअन्तर्गत जस्तापाता लगाएका बगनासकाली–९ चापपानी बझादीका नेत्रलाल तिमिल्सिनाले खरको छानो हटाएर टिन लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले गाउँपालिकाले गरेको यस प्रकारको सहयोग निकै सराहनीय भएको भन्दै खरको छानो सधैं खतरा हुने भएकाले पनि यस्ता छाना भएका घरहरुमा टिनको छानो लगाउनुपर्ने खाँचो औंल्याउनुभयो ।गाउँपालिकाभित्रका सबै समुदायलाई गरिबीबाटमाथि ल्याउन, समृद्धिको यात्रातर्फ लाग्यौं भन्ने अनुुभूति जनतालाई गराउन समेत यो अभियानले सहयोग पु¥याएको गाउँपालिका अध्यक्ष बस्यालको भनाइ छ ।तीन आर्थिक वर्षमा यो अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिँदै आव २०७४-०७५ मा १५ लाख, २०७५-०७६ मा १५ लाख र २०७६-०७७ मा ३९ लाख बजेट विनियोजन भएको खुलासा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्