भेडाले फेरिदियो घर्तीको जीवनशैली



वासुदेव शर्मा, जाजरकोट ।

भौगोलिक विकटताले पछाडि परेको जुनीचाँदे गाउँपालिका पाटनको फेदमुनिको निपाने बस्तीमा खेतिपाती गरे पनि धेरै उत्पादन हुँदैन । बाह्रैमहिना खेतिपातीमा जुटे पनि वर्षभरि खाना पुग्ने अन्न फलाउन नसकेपछि भेडापालन व्यवसायमा लागेका जुनीचाँदे गाउँपालिका–७ निपानेका नैनसिंह घर्तीको जीवनशैली हाल फेरिएको छ । भेडापालन व्यवसाय गरेपछि आयआर्जनमा सुधार आउनुका साथै उहाँको जीवनशैली फेरिएको हो ।

कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौंमा २०७४ सालमा जुनी हर्वल एग्रो प्रालि नामक संस्था दर्ता गरी उहाँले विधिवत् व्यवसाय शुरु गर्नुभएको थियो । भेडाको मासु, ऊन र मलले राम्रो आम्दानी हुने देखेपछि घर्ती भेडापालनप्रति आकर्षित हुनुभएको थियो ।
दुर्गम जुनीचाँदेमा आम्दानीको स्रोत नहुँदा वर्षभर श्रम गर्दा पनि खाना खानै नपुग्ने, छोराछारी पढाउन सकस भएपछि यस व्यवसायमा लागेको र हाल घर व्यवहार चलाउन सहज भएको व्यवसायी घर्तीले वताउनुहुन्छ । निजी लगानीमा व्यवसाय शुरु गरेका घर्तीको गोठमा हाल १ सय ५० वटा भेडा छन् ।हाल छोराछोरीको इच्छाअनुसार पढाइरहेको उहाँको कथन छ । जेठी छोरी लक्ष्मी चुरे माध्यामिक विद्यालय बर्दियामा पढ्छिन् । आईएसीएजी पढ्दै छिन् महिली छोरी खिमा । साइँली छोरी मीना, छोरा ओमप्रकाश र कान्छी छोरी पुष्पा गाउँकै विद्यालयमा पढिरहेका छन् ।

गत वर्ष भेडापालनबाट ३ लाख ३३ हजार तथा यस वर्ष ५ लाख आम्दानी गरेको उहाँ बताउनुहुन्छ । भेडिगोठमा हाल २ साँढ, १८ थुमा, २५ पुर्सा र १ सय ५ वटा माउ भेडा रहेको घतीको कथन छ । भेडा गोठालो ३ जना आवश्यक पर्ने भएकाले दुई जना ज्यालादारीमा गोठालो उहाँले राख्नुभएको छ ।जुम्ला कालिकोट र दैलेखको सिमानामा पर्ने चाँदेपाटन भेडापालन व्यवसायको उपयुक्त स्थान भएकाले व्यवसायबाट राम्रो आम्दानी भएको घर्ती बताउनुहुन्छ ।

नस्ल सुधारका लागि जुम्लाको गोठीचौरबाट अस्ट्रेलियन मेरिनो जातको साँढ र डोटीबाट ढोरल जातको साँढ उहाँले ल्याउनुभएको छ । मासुबाट आम्दानी गर्न ढोरल जातको भेडा र उनबाट आम्दानी लिन अस्ट्रेलियन मेरिनो जातको भेडा पाल्न उपयुक्त भएको उहाँ सुनाउनुहुन्छ । घर्तीलाई साँढ ल्याउन र खोर निर्माणका लागि गाउँपालिका र जिल्ला पशु सेवा कार्यालयले दुई वर्ष पहिले अनुदानसमेत दिएको थियो ।

भेडापालन व्यवसयसँगै किवीखेती शुरु गरेका घर्तीले यस वर्ष २ सय बिरुवा लगाउनुभएको छ । तीन वर्ष पहिले लगाएका ४५ वटा बिरुवाले यस वर्षदेखि ६० हजार आम्दानी दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्