भारत दोस्रो दिनमै विजयी



नयाँ दिल्ली, (एजेन्सी)।

भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा खेलको दोस्रो दिनमै जित हात पारेको छ ।इंग्ल्यान्डको टिम बिहीबार दोस्रो इनिङमा मात्र ८१ रनको योगफल बनाउँदै अलआउट भयो । भारतले केवल ४९ रनको विजयी लक्ष्य पायो । जुन लक्ष्यलाई भारतले सबै विकेट सुरक्षित राखेर ७.४ ओभरमै भेटायो । यो सँगै भारतले चार टेस्टको सिरिजमा २–१ को अग्रता लिएको छ ।

टेस्टको १ सय ४४ वर्षको इतिहासमा २२औं पटक दुई दिनमै नतिजा निस्केको हो । भारतको यो दोस्रो टेस्ट हो जुन दोस्रो दिनमै समाप्त भएको छ । यसअघि भारतले २०१८ मा बैंगलोरको टेस्टमा अफगानिस्तानलाई दुई दिनमै हराएको थियो । साथै १० विकेटले टेस्ट जितेपछि भारतले आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने संकेत पनि गरेको छ । सो च्याम्पियनसिपमा न्युजिल्यान्ड पहिले नै फाइनल पुगिसकेको छ ।भारतको अहमदाबादस्थित विश्वकै ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिङ गरेको थियो । तर, टिम पहिलो दिनको खेलमै पहिलो इनिङमा १ सय १२ रनको योगफल बनाएर अलआउट भएको थियो । तेसो त जवाफमा घरेलु टिम भारत पनि दोस्रो दिन १ सय ४५ रनको योगफलमै अलआउट हुन पुग्यो । तापनि भारतले ३३ रनको महत्वपूर्ण अग्रता लिएको थियो । रोहित शर्माले सर्वाधिक ६६ रन योगदान दिएका थिए ।

दोस्रो इनिङमा पनि भारतीय स्पिनर हावी भएपछि इंग्ल्यान्डको हालत पहिलो इनिङ भन्दा खराब भएको थियो । टिमले १ सय रन पनि पार गर्न सकेको थिएन । टिम ८१ रनमै अलआउट भएको थियो । इंग्ल्यान्डका कोही पनि ब्याटसम्यानले भारतीय स्पिनरलाई झेल्न सकेनन् । टिमका लागि बेन स्टोक्सले सर्वाधिक २५ रन जोडेका थिए । भारतीय बलरमा अक्षर पटेलले ५ र रविचन्द्रन अश्विनले ४ विकेट लिए । साथै अश्विनले जोफ्रा आर्चरलाई आउट गरेपछि आफ्नो टेस्ट करियरमा ४ सय विकेट लिन पनि सफल भए । एक विकेट वाशिंगटन सुन्दरको नाममा रह्यो ।
कोहली सफल कप्तान
विराट कोहली यो टेस्ट जितेसँगै घरेलु भुमिमा सबैभन्दा सफल भारतीय कप्तान बन्ने कीर्तिमान रचेका छन् । उनले अहिलेसम्म घरेलु भुमिमा २८ मध्ये २२ टेस्ट जितेका हुन् । यसअघि पूर्व कप्तान महेन्द्र सिंह धोनीले कप्तानीको रुपमा घरेलु भुमिमा ३० मध्ये २१ टेस्ट जितेका थिए ।यसैगरी कोहलीले अस्टे«लियाका दिग्गज कप्तान स्टिभ वागको बराबरी गरेका छन् । वागले आफ्नो घरेलु भुमिमा २२ टेस्ट जितेको कीर्तिमान राखेका थिए । कोहलीले अब अर्को टेस्ट जितेमा वागको कीर्तिमान पनि तोडिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्