अर्बौं युरो बराबरको कोकिन जफत



बर्लिन, (एजेन्सी)  ।

जर्मनी र बेल्जियम भन्सार अधिकारीहरूले नेडरल्यान्डतर्फ पठाउन ठीक पारिएको २३ टनभन्दा बढि कोेकिन फेला पारेका छन् । जर्मन अधिकारीहरूले यसै महिनाको शुरूमा पाराग्वेबाट ह्याम्बर्गको बन्दरगाहमा आइपुगेको पाँच वटा सिपिंग कन्टेनरमा १६ टन कोकिन बरामद गरेका हुन् ।नेडरल्यान्डका प्रहरीलाई पूर्वसूचना प्राप्त भएपछि बेल्जियन बन्दरगाह एन्ट्वेर्पमा थप ७ दशमलव २ टन कोकिन बरामद गरिएको हो ।

जर्मन अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रचलित मूल्यलाई आधार मान्ने हो भने यसरी जफत भएका कोकिनको मूल्य अर्बौं युरो पर्दछ ।डच प्रहरीले लागुऔषध ओसार–प्रसारमा संलग्न रहेको आशंकामा नेडरल्यान्डमा एक जना २८ वर्षीय पुरूषलाई गिरफतार गरिएको छ । भन्सार अधिकारीहरूले अहिलेसम्ममै पहिलोचोटि यति ठूला परिमाणमा कोकिन जफत भएको बताएका छन् ।

एन्ट्वेर्पमा पानामाबाट आएको एउटा कन्टेनरमा राखिएका काठका बाकसहरूभित्र कोकिन भेटिएको हो । त्यसैगरी, उत्तरी जर्मन शहर ह्याम्बर्गमा कोकिन टिनहरूमा भरिएको अवस्थामा भेटाइएको थियो ।ह्याम्बर्ग भंसार अधिकृत रेने म्यात्स्चकेले १६ टन कोकिनको एक दशमलव पाँचदेखि तीन दशमलव पाँच अर्ब युरोसम्म पर्ने अनुमान गरेको छ । प्याकिंङमा अलि गडबडी भएको शंकामा खोलेर हेर्दा अवैध कोेकिन भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्