जोहन्सन एन्ड जोहन्सनको खोप रेफ्रिजेरटरमा पनि सुरक्षित अमेरिकामा वैधानिकता प्राप्त



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी खोप अनुगमनकर्ताहरूले गरेको पुनरावलोकन अनुसार एकपटक मात्र लगाए पुग्ने जोहन्सन एन्ड जोहन्सनको कोरोना भाइरस विरुद्धको खोप निकै सुरक्षित र प्रभावकारी रहेको देखिएको छ । सम्भवतः अमेरिकामा केही दिनभित्रै कोभिड–१९ विरूद्ध यस खोपलाई पनि वैधानिकता दिइँदै छ ।

यो अमेरिकामा वैधानिकता हासिल गर्ने तेश्रो खोप हुनेछ । यस अघिका फाइजर र मोडर्ना खोपहरूभन्दा कम खर्चिलो तर बढि प्रभावकारी मानिने यस खोपलाई फ्रिजरलगायत रेफ्रिजेरेटरमा पनि राख्न मिल्ने बताइएको छ ।गत महिना मात्र जोन्सन एन्ड जोहन्सन कम्पनीले यस खोपको परीक्षण परिणाम सार्वजनिक गरेको थियो । संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को को–भ्याक्स कार्यक्रमका अनुसार घाना कोभिड–१९ विरूद्धको खोप पाउने विश्वकै पहिलो मुलुक भएको भोलिपल्टै जोहन्सन खोपको विश्वसनियतासम्बन्धी नयाँ खुसी थपिएको हो । यो खोप बेल्जियन कम्पनी जान्स्सेनले उत्पादन गरेको हो ।

अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडिए) ले जान्स्सेनले सो खोपको बारेमा उपलब्ध गराएको तथ्यांकहरू माथि प्रकाश पारेको हो । एफडीएले जोहन्सन एन्ड जोहन्सनको खोप कोरोना भाइरसको लक्ष्य र रोगै कम गर्नमा त्यतिकै प्रभावकारी रहेको जनाएको छ ।यस खोपको परीक्षण संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । तर, नयाँ स्वरूपको कोरोना भाइरसको जगजगी रहेको दक्षिण अफ्रिका र ब्राजिलमा भने यसको प्रभावकारितामा अलि कमि देखिएको विशेषज्ञहरूको भनाइ रहेको छ । यो खोप कोरोना भाइरस रोक्नमा ८५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।अमेरिकामा कोेरोना भाइरस संक्रमण कारण मर्नेको संख्या पाँच लाख नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्