कोभिड भ्याक्सिन भण्डारण गृह आठ ठाउँमा



मधुसूदन रायमाझी, काठमाडौं ।

सरकारले कोरोनाविरुद्धको भ्याक्सिन भण्डारण गर्न मुलुकका विभिन्न आठ ठाउँमा भण्डारण गृह निर्माण गर्ने भएको छ । कोरोनाविरुद्धको खोप नेपालमा लगाउन शुरु गरेसँगै सरकारले यसका लागि व्यवस्थित भण्डारण गृह निर्माणको काम थालेको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले भण्डारण गृह निर्माण कार्य अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार विभागले सातवटै प्रदेशमा एक÷एक तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माण कार्यलाई अघि बढाएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले बताउनुभयो ।

विभागले प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गर्ने भएको छ ।त्यसै गरी, लुम्बिनी प्रदेशको बुटबलउपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालय परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्र परिसरमा भण्डारण गृह निर्माण गर्न लागेको हो । केन्द्रीय भण्डारण गृह भने पथलैया मेडिकल स्टोर परिसरमा निर्माण हुनेछ ।शहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य भवन शाखाका प्रमुख सुरोज पौडेलले भण्डार गृहको कामलाई तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार प्रतिभण्डारण गृह १ करोड २० लाखका दरले आठवटा भण्डारण गृह निर्माण हुनेछन् । आठवटा भण्डारण गृह निर्माणका लागि ९ करोड ६० लाख रकम खर्च हुनेछ । प्रदेश नम्बर २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी प्रदेशमा निर्माण हुने भण्डारण गृहका लागि पनि ठेक्का लगाउन सूचना प्रकाशित भइसकेको पौडेलले बताउनुभयो ।विभागले ठेक्का सम्झौता भएको दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको छ । सम्बन्धित प्रदेशका लागि आवश्यक खोप प्रदेशअन्तर्गत भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकताबमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिने बताइएको छ ।

ठूलो परिमाणमा भ्याक्सिन राख्ने ठाउँ नभएको अवस्थामा सरकारले कोभिडविरुद्धको भ्याक्सिन राख्ने भण्डारण गृह निर्माणको काम अगाडि बढाएको हो । प्रविधिको प्रयोग गरेर छोटो अवधिमा भण्डारण गृहको निर्माण सम्पन्न गर्न प्रिफ्लेक्सको प्रयोग गरिनेछ । यस्ता भवन करिब २० वर्षसम्म टिकाउ हुने बताउँदै विभागका महानिर्देशक प्याकुरेले तोकिएकै समयसीमाभित्र भण्डारण गृह निर्माण गरेर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्