शैक्षिक सत्र सर्दा कसलाई के असर पर्ला ?



विष्णु परियार, काठमाडौं ।

गत वर्ष यति बेला विद्यार्थीहरु परीक्षाको तयारी गरिहेका हुन्थे । एसईई परीक्षा दिने विद्यार्थी झन् परीक्षाकाे चटारोमा हुन्थे । तर यस बर्ष अवस्था फेरिएको छ । कोरोना महामारीका कारण झण्डै नौ महिना घरभित्रै थुनिएका बालबालिका भर्खर–भर्खर विद्यालय जान थालेका छन् । कोरोना महामारीको त्रास मनोवैज्ञानिक रुपमा कम भएको छैन ।

यो बर्ष अवस्था ठ्याक्कै उल्टो छ । लामो समयपछि विद्यालय सञ्चालन हुँदा शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबै अन्यौलमा देखिन्छन् । लामो समयसम्म पढाई नहुँदा विद्यार्थीकाे पढाईमा नकारात्मक असर परेको छ । यस्तै अन्यौलका बीच कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा आइपरेको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले शैक्षिक सत्र सार्ने निर्णय गरेको छ । चालु बर्ष २०७७ सालको शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म कायम गरिएको छ । शिक्षा मन्त्रीस्तरीय निर्णयबाट सो कायम गरिएको हो ।

सरकारले शिक्षा (नवौँ संशोधन) नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । संशोधित सो नियमावली फागुन ३ गतेको राजपत्रमा प्रकाशित भएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले संशोधित नियमावलीअनुसार शिक्षामन्त्रीस्तरीय निर्णयबाट चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म लम्ब्याइएको जानकारी दिनुभयो ।

यस पटकको शैक्षिक सत्र झण्डै दुई महिनापछि धकेलिएको छ । यो बर्षअसार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय निर्णय भएको हो । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल पनि झण्डै नौ महिना ठप्प हुँदा शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो ।

देशभरका विद्यालयबन्द भएपछि विद्यार्थीको पढाई मात्र बिग्रिएन शैक्षिक संस्थाहरुले पनि अनेक चुनौतीको सामना गर्नु प-यो । कक्षा ११ र कक्षा १२ को परीक्षाको ढाँचा विगतका बर्षको तुलनामा केही परिवर्तन गरियो । भने कक्षा १० को एसईई परीक्षा पनि विद्यार्थीलाई आन्तरिक मुल्याङ्कनका आधारमा प्रमाणपत्र वितरण गरिएको छ । यस्तैमा आगामी शैक्षिक सत्र २ महिना ढिला गरी सुरु हुने भएपछि यसले विद्यार्थीको पढाई/सिकाई र शिक्षा क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने बहसको विषय भएको छ ।

शैक्षिक सत्र सर्दा शिक्षकलाई चाप

शैक्षिक सत्र सार्ने निर्णय सरकारको बाध्यता भएपनि यसले सबैभन्दा बढी शिक्षकलाई चाप पर्ने नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले बताउनुभयो । उहाँले शिक्षकले पाउने चाडपर्व तथा हिउँदे विदा कटौती हुने भएकाले शिक्षकलाई चाप पर्न सक्ने बताउनुभयो । दुई महिना शैक्षिक सत्र सर्दैमा कक्षा १० का विद्यार्थीको उच्च शिक्षामा भने कुनै असर नपर्ने उपाध्यक्ष कुँवरकाे दाबी छ ।

जेठमा एसईई परीक्षा लिएर असारमा नतिजा निकाल्न सकिने भएकाले यसले आगामी शैक्षिक सत्रमा केही समय तलमाथि भएपनि तेस्रो शैक्षिक सत्र नियमित रुपमै चलाउन सकिने कुँवरको भनाई छ ।

‘विद्यार्थीको सिकाईमा जोड दिर्नुपर्छ’

सरकारले परीक्षाको मात्रै चिन्ता नगरी विद्यार्थीको सिकाइ सुनिश्चिततामा ध्यान दिनुपर्ने बताउँनुहुन्छ काठमाडाै‌काे बुद्धनगर निवासी    अभिभावक युसब सापकोटा । भर्खर पढाई सुरु भएकाले अहिले नै परीक्षाको हतारो भन्दा पनि कोर्स कसरी सकाउन सकिन्छ भनेर चिन्ता गर्नुपर्ने उहाँकोे भनाइ छ ।

कतिपय न्यून जोखिम भएका स्थानीय तहले लकडाउनमै पनि शैक्षिक क्रियाकलाप सञ्चालन गरेका कारण शैक्षिक सत्रको अवधि फरक–फरक हुन सक्ने भएकाले स्थानीय तहहरुसँग पनि समन्वय गरेर अन्तिम परीक्षाको निर्णय गर्दा उचित हुने उहाँले बताउनुभयो ।

यस्तै, जेठ भित्र सबै परीक्षा सक्ने र कोभिडका कारण साविकको विद्यालय छाडेर पायक पर्ने स्थानमा पुगेका विद्यार्थीलाई स्थानान्तरण गर्ने बाटो समेत खुला गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । यसका लागि विद्यालयले स्थानान्तरण गरेर जिल्ला स्थित समन्वय इकाइलाई जानकारी गराउनु पर्ने छ ।

शैक्षिक सत्र लम्ब्याउन आवश्यक छैन : शिक्षाविद्

विद्यालयको शैक्षिक सत्र लम्ब्याउनु मात्रै उपयुक्त नहुने सुझाव दिनुहुन्छ शिक्षाविद् डा. विद्यानाथ कोइराला । शिक्षा विद् डा. काेइरालाले लकडाउनकै समयमा विद्यार्थीले घरमै धेरै विषयको प्रयोगात्मक ज्ञान हासिल गरेकाले विद्यार्थीहरुलाई विषयवस्तुभन्दा पनि शिक्षकले तरिका सिकाउनुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक सत्र लम्ब्याउनुभन्दा शिक्षहरुले पाठ्यवस्तुलाई संश्लेषण गरेर पढाउदा समस्या समाधानहुने सुझावदिनुभयो । छोटो समयमा विद्यार्थीले बुझ्ने गरी पढाउनु पर्नेमा डा. कोइरालाको जोड छ । यसरी शैक्षिक सत्र लम्ब्याउने हो भने तीनबर्ष अप्ठ्यारो पर्ने पनि उहाँले बताउनुभयो ।  उहाँले विद्यार्थीहरुलाई शैक्षिक घण्टाभन्दा  पनि सिकाइ र गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्