शुरू भयो डोटी–कैलाली बस सेवा



विमल विष्ट, डोटी  ।

वर्षौंपछि डोटीको दिपायल सिलगढी–८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका नागरिकले घरबाटै गाडी चढ्न पाउने भएका हुन् । कच्ची सडक निर्माण भएको कम्तीमा पनि दश वर्षपछि यातायातको सेवा पुगेको हो ।कच्ची सडक निर्माण गरिएको लामो समय भइसक्दासमेत गाडी सञ्चालन नभएका कारण सो क्षेत्रका नागरिकहरु जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानका लागि घण्टौं पैदलयात्रा गर्न बाध्य हुँदै आएको स्थानीयबासी केपी माझीले बताउनुभयो ।

शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्तरूपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गएको शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्म यातायात सेवा शुरु गरेका हुन् । नागरिकको सेवाका लागि आफूहरुले बस सेवा सञ्चालन गरेको शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले बताउनुभयो ।‘सडक पुगे पनि यातायात नपुगेको र यहाँका नागरिकलाई यातायातको समस्या हुन थालेपछि हामीले बस सेवा सञ्चालन गरेका छौं, सबैले सहयोग गरे बस सेवा निरन्तर सञ्चालन हुनेछ ।’ –उहाँले भन्नुभयो ।

गाउँमा बस सेवा सञ्चालन भएपछि यहाँका नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउनमा पनि सहज हुने दिपायल सिलगढी–८ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।अहिले उक्त क्षेत्रबाट दैनिक एउटा शैलेश्वरी यातायत र अर्को सुन्दर सुदूरपश्चिम यातायात गरी दुईवटा बस सञ्चालन हुँदै आएको शैलेश्वरी यातायत प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा बस सेवा सुचारु गर्ने क्रम तीव्ररूपमा बढेको छ । नागरिकको मागअनुसार वर्षौं पहिले निर्माण गरिएका बस चल्ने सडकहरुमा स्थानीय जनप्रतिनिधिहरुको पहलमा गाउँ–गाउँमा बस सञ्चालन हुन थालेको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो ।

बस सेवा पुगेसँगै गाउँमा किसानले उत्पादन गरेका तरकारीदेखि अन्य खाद्यवस्तु पनि बजारसम्म ल्याउन सहज हुने भएको छ । बस सञ्चालनसँगै किसानले उत्पादन गरेका खाद्यवस्तुले बजार पाउने आशामा यहाँका किसानहरु निकै खुसी भएको केआइसिंह गाउँपालिका–४ का स्थानीयबासी पदमसिंह कार्कीले जानकारी दिनुभयो ।जिल्लाको केआईसिंह, जोरायल, बडिकेदार, आदर्श, पूर्वीचौकी, दिपायल सिलगढी तथा शिखर नगरपालिकाका प्रायः सबै वडाहरुमा बस सेवा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्