प्रतिनिधिसभा पुनःस्थापन हुँदा विजय जुलुस



नेपाल समाचारपत्र, जाजरकोट ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना भएको फैसला गरेपछि संसद् पुनःस्थापनाको पक्षमा उभिएका प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले आफ्नो पक्षमा फैसला भएको भन्दै जाजरकोटमा विजय जुलुस निकालेका छन् । प्रधानन्याधीश चोलेन्द्र शंमशेर जवरासहित संवैधानिक इजलासका पाँचैजना न्यायाधीशको एकमत भएपछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधिसभा विघटन गरेपछि पक्ष र विपक्षमा नेकपाका दुई पक्षमा सडकदेखि बालुवाटारसम्म कार्यक्रमहरु भएका थिए । दुवै पक्षले गाउँ–गाँउमा विरोध र समर्थनका कार्यक्रमहरु गर्दै आएका थिए । सर्वोच्च अदालतको आदेशको पर्खाइमा बसे पनि केन्द्र, जिल्ला हुँदै गाउँसम्म खरो रूपमा उत्रिएका नेकपा प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भन्दै जाजरकोट सदरमुकाम खलंगामा विजय जुलुस गरेको हो ।

जनताको जनादेशलाई व्यवास्ता गर्दै हजारौं जनताको रगत र पसिनाबाट निर्माण भएको संविधानलाई नै ‘कू’ गर्न खोजेका प्रधानमन्त्री वलीलाई सर्वोच्च अदालतको आदेशले देखाइदिएको नेकपा प्रचण्ड–नेपाल समूहका नेता कालीबहादुर मल्लले बताउनुभयो । विधानको मर्म र भावना नबुझी प्रतिनिधिसभा विघटन गर्न खोजेका प्रधानमन्त्री वलीको असंवैधानिक कदमको हर्कत सर्वोच्च अदालतको फैसलाले देखाएको उहाँको भनाइ छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र गत पुस ५ गतेभन्दा पछि गरेका नियुक्ति र सिफारिस बदर गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले नाचगानसहित सदरमुकाम खलंगाको ठाँटी बजारमा विजयोत्सव मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्