सीमानाकाबाट चार महिलाको उद्धार



 गणेश घिमिरे, इलाम । 

विदेश पठाइदिने भन्दै भारततर्फ लैजान खोजिएका चार जना महिलालाई पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको छ । रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमानाका फाटकबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

‘गोरखा धार्चेकै चन्द्र गुरुङ भन्ने व्यक्तिले १९ देखि ३२ वर्ष उमेर समूहका महिलालाई इलामको पशुपतिनगरमा आफूहरुको मान्छे छ, उसले तपाईंहरुलाई भारत हुँदै दुबई पठाइदिने भन्दै पठाएका रहेछन्’, माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले भन्नुभयो– ‘तर, पशुपतिनगर आएका ती महिला भारततर्फ जाने क्रममा फाटकमा प्रहरी र माइती नेपाललका प्रतिनिधिले सोधपुछ गर्दा आफूहरुलाई यहीं (पशुपतिनगर) कै मानिसमार्फत भारत हुँदै दुबई पठाउने भएकाले आफूहरु भारततर्फ जान लागेको बताएपछि उनीहरुलाई उद्धार गरिएको हो ।’पशुपतिनगरबाट उनीहरुलाई भारततर्फ कसले लैजान खोजेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको ढकालले बताउनुभयो । उद्धार गरिएका चारै जनालाई अभिभावकको जिम्मा लगाइसकेको बताइएको छ । ढकालका अनुसार पछिल्लो समय पशुपतिनगरमा मानव बेच–विखनका लागि स्थानीय एजेन्टहरुसमेत सक्रिय भएका छन् । कन्ट्रयाक्टमार्फत मानव बेच–विखनको तस्करी हुने निकै जोखिम बढेको छ ।

माइती नेपाल पशुपतिनगरको तथ्यांकअनुसार पशुपतिनगर नाकाबाट दुई महिना (जनवरी–फेब्रुअरी) को अवधिमा ३२ जना महिलाको उद्धार गरिएको छ । उनीहरु अधिकांशलाई विभिन्न प्रलोभनमा परेर भारततर्फ लैजान खोजिएको अनुसन्धानबाट खुलेको छ । उद्धार गरिएकामध्ये १४ जना बालबालिका छन् भने अन्य सबै महिला रहेका छन् । यसरी हेर्दा पूर्वी नेपालको भारतीय सीमा नाका पशुपतिनगर मानव बेच–विखनको प्रमुख ‘ट्रान्जिट’ बनेको छ । गत आर्थिक वर्षमा ६० जनाको उद्धार गरिएकोमा यो वर्षको दुई महिनामै ३२ जनाको नाकाबाट उद्धार गरिनुले पशुपतिनगर मानव बेच–विखनको ट्रान्जिट पोइन्ट नै बनेको ढकालको भनाइ छ । पूर्वका अन्य नाकाभन्दा पशुपतिनगरबाट मानव बेच–विखनको जोखिम बढेको यसको नियन्त्रणमा लागेका निकायहरुले नै बताएका छन् । खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी, आफन्त भेटघाटलगायतको बहाना बनाउँदै पशुपतिनगरबाट मानव बेच–विखन मौलाइरहेको छ ।

यो नाकाबाट पछिल्लो एक वर्षता विशेष गरेर सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, गोरखा, संखुवासभा जिल्लाका नरनारीलाई अवैध ढंगले भारतलगायतका अन्य देश पु¥याउने गरिएको मानव बेच–विखनविरुद्ध काम गरिरहेको माइती नेपालले जनाएको छ । यसको नियन्त्रणका लागि माइती नेपालसहित नाकामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी सक्रिय ढंगबाट लागे पनि नियन्त्रणको प्रयासमा निकै चुनौती थपिँदै गएको छ ।यस्तो अवस्थामा पीडितलाई उद्धार गर्ने गरे पनि पीडकहरू भने वर्षाैंदेखि उम्किरहेका छन् । पशुपतिनगर नाका मानव तस्करीमा देशमै बढी प्रयोग हुने नाका बन्दै गएको छ । सीमावर्ती क्षेत्रमा सयौं सडक र गोरेटाहरू रहे पनि प्रभावकारी ढंगबाट सुरक्षा निकायको उपस्थिति हुन नसक्दा मानव बेच–विखनको संख्या बढ्दै गएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख (एसपी) नवीनराज राईले मानव बेच–विखनको समस्या गम्भीर भएको भनिए पनि जिल्ला प्रहरी कार्यालयमा निवेदनचाहिँ ज्यादै कम संख्यामा मात्र आउने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्