अलैँची उत्पादन बढ्दै, बजार मूल्य घट्दै



दिलकुमार लिम्बू,  ताप्लेजुङ ।

ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए संगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकोले दिन प्रतिदिन अलैँची कृषक निराश हुँदै गएको छ ।
जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताउनुभयो । शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निराश भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताउनुभयो ।

केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका ७ निवासी अलैँची कृषक विमना लिम्बूले बताउनुभयो । आजभन्दा छ÷सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न किसानहरु उत्साहित भएका थिए । पछिल्लो केही वर्षयता निरन्तर सोचेजस्तो मूल्य नआएपछि किसानहरुले फाइदा लिन सकेको छैन । यसवर्ष उत्पादन वृद्धि भए पनि अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसानहरु मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९ सय ६० मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।ताप्लेजुङमा गत वर्षभन्दा यसवर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले बताउनुभयो । कुल चार हजार ३ सय २ हेक्टर क्षेत्रफलमध्ये चार हजार २ सय ५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताउनुभयो । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्टले बताउनुभएको छ ।

यता हालको बजार मूल्य अनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका ६ निवासी विर्ख लिम्बूले बताउनुभयो । सिरिजङ्घा गाउँपालिका–७ खेबाङका किसान ज्ञानु लिम्बूले अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताउनुभयो । शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको, तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका किसान बुद्ध दाहालले बताउनुभयो । सुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमिनसमेत मासेर अलैँची खेती सुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेकाले चिन्तित बनाएको दाहालले बताउनुभयो । उहाँका अनुसार अलैँचीले मूल्य पाउने आसै–आसमा किसानले केही वर्षयता समय बिताउनुपरेको छ ।

यसवर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलाग्राम) २४ हजार ५ सय रुपियाँमा कारोबार अलैँची जोन ताप्लेजुङका अध्यक्ष तथा बरिष्ठ उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश अधिकारीले बताउनुभयो । विगत एकसाता अघिदेखि नै सोही मूल्यमा अलैँचीको कारोबार भइरहेको अधिकारीले जानकारी दिनुभयो । गोलसाई जातको अलैँची भने प्रतिमन २६ हजार रुपियाँमा कारोबार भइरहेको अधिकारीले बताउनुभयो ।यसवर्ष हालसम्म अधिकतम प्रतिमन २८ हजार र न्यूनतम २० हजार रुपियाँमा अलैँचीको कारोबार भएको अधिकारीले बताउनुभयो । कुनैबेला एक लाख २० हजार रुपियाँ सम्ममा समेत अलैँची कारोबार भएको स्मरण गर्नुहुँदै उहाँले हालको मूल्यले भने किसान र व्यवसायी दुवैलाई फाइदा नरहेको बताउनुभयो । प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको मूल्य नआउँदा ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा आर्थिक चलखेलमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्