संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले देश फेरि सत्ताको होडबाजीमा फस्छ : बिजुक्छे



पुुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयले देश फेरि सत्ताको होडबाजीमा फस्ने बताउनुभएको छ । बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले यसबाट निर्वाचन मार्फत जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले संसद् विघटन बदर भएसँगै अब नयाँ सरकार गठनको लागि ठूला दलका नेताहरूबीच संसदमा जोड घटाउ शुरु हुने बताउनुभयो ।

बिजुक्छेले संसद् पुनस्र्थापना भए पनि देशको राजनीतिले स्थिरता नदिने र जनताको समस्या समाधान नहुने बताउनुभयो । पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व फेरिरहनु स्वाभाविक भए पनि र अब जसले सरकारको नेतृत्व गरे पनि त्यो सरकारले बहुमत जनताको हितमा काम गर्नेछैन उहाँले भन्नुभयो ।

संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको र शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिने उहाँको भनाई थियो ।
अब प्रधानमन्त्री ओलीले के कस्तो पाइला चाल्ने हुन् भन्नेतर्फ पनि जनताको ध्यान गएको उहाँले बताउनुभयो ।

सरकारको नेतृत्व प्रम ओलीले गरिरहनु हुने हो वा या अर्कै कुनै नेताको नेतृत्वमा सरकार बन्ने हो ? नेकपाबाट विभाजित दाहाल–नेपालको नेकपाले कस्तो नीति लिने हो ? चर्चा परिचर्चा भइरहेको छ ,उहाँले भन्नुभयो ।

सरकार गठन भए पनि लामो समयसम्म सरकार गठनमा भागबन्डाको खेल भइरहनेछ, भागबन्डामै समय व्यतित भइरहनेछ त्यसकारण नेमकिपाले समाजवादी गणतन्त्रको आवश्यकता खोजेको हो उहाँले भन्नुभयो ।

अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै बिजुक्छेले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सो अवसरमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविमा लामो समयको अध्यापनपश्चात् अवकाश भएका विद्यालयका पूर्वसहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्