रिहाना फेरि विवादमा



हलिउडकी चर्चित पपगायिका रिहाना गीत गायनका साथमा विभिन्न हर्कतका कारण बेला–बेलामा चर्चामा आइरहन्छिन्। उनै रिहाना फेरि एकपटक आफ्नो पुरानै बानीका कारण विवादमा तानिएकी छिन्।

हालै उनले सामाजिक सञ्जालमा आफ्नो एक टपलेस फोटो शेयर गरिन्। रिहानाले टपलेस फोटोसुट गर्नु र सामाजिक सञ्जालमा शेयर गर्नु त सामान्य कुरा थियो, तर यसपटक उनले टपलेस फोटोमा गलामा हिन्दू धर्मका देवता गणेशको लकेट लगाएकी छिन्। उनले यस्तो टपलेस फोटो शेयर गरेपछि हिन्दू धर्मावलम्बी फ्यानहरु उनीसँग रुष्ट भएका छन्। धेरैले उनलाई आफू चर्चित हुनका लागि अरूको धर्मको मजाक नगर्न सल्लाह दिएका छन् भने कतिले भगवान्को प्रयोग गरेको भन्दै गाली गरेका छन्।

रिहानाले कुनै पनि धर्मलाई लिएर गरेको यो पहिलो हर्कत भने होइन। उनले यसभन्दा अघि पनि आफ्नो टपलेस फोटो शेयर गरेकी थिइन्, जुन फोटोमा उनको नितम्बमा हिन्दू धर्मको मन्त्रको ट्याटु हानिएका प्रस्ट देखिन्थ्योे। उक्त समयमा पनि हिन्दू धर्मावलम्बीहरुले उनको विरोध गरेका थिए। त्यस्तै सन् २०१२ मा आबुधाबीस्थित चर्चित मस्जिद शेख जायद शाहीको बाहिर बुर्का लगाएर फोटोसुट गरिरहेका बेला विवाद भएपछि उनलाई मस्जिदबाहिर निकालिएको थियो। किनभने उनले कालो रङको बुर्कामाथि गहना र ओठमा रातो लिबिस्टिक लगाएकी थिइन्, जुन इस्लाम धर्ममा वर्जित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्