अदुवाको भाउ घटेपछि किसानमा निराशा



नेपाल समाचारपत्र, इलाम ।

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ ।गत वर्ष प्रतिमन ९४० किलो ६ हजार रुपैयाँ सम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु १ हजार रुपैयाँ मात्र हुँदा किसान निराश भएका हुन् । गत वर्ष उल्लेखनीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् ।
गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखनीय थियो ।

पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गर्नुभएको थियो । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनालले बताउनुभयो । अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निराश हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपालले बताउनुभयो ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्