किसुनजीको नाममा हाफ म्याराथन हुने



काठमाडौं, (नेस) । 

 नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङ्गले चैत्र २२ गते ‘प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७’ आयोजना गर्न लागिएको जानकारी गराए । समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ । प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको रूपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङले बताए ।करिब ९ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शिर्ष तीन खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ५÷५ हजार प्राप्त गर्नेछन् ।

नव खेलाडीहरू उत्पादन गर्ने उद्देश्य रहेको तर प्रतियोगितालाई सिनियर प्रतियोगिताको रुपमा किन सञ्चालन गर्न लागिएको भन्ने पत्रकारको जवाफमा संयोजक गुरुङ्गले पहिलो प्रतियोगिता भएकोले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई प्रचार प्रसार गर्ने र छोटो समयमा नै प्रतियोगिताको व्यवस्थापन गर्न सकिने भएकाले सिनियर प्रतियोगितालाई आयोजना गर्न लागिएको र भविष्यमा जुनियर प्रतियोगितालाई पनि सञ्चालन गर्दै जाने उद्देश्य रहेको बताए ।म्याराथन काठमाडांै क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट शुरू हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराईयो ।कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, केन्द्रीय सचिवद्वय मनीष राम जोशी र बखतबहादुर शाही, केन्द्रीय सदस्य राजु विक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्