दुईवटा ऐन संशोधन गर्दै सकियो नगरसभा



जाजरकोट, (नेस) ।

जाजरकोट नलगाड नगरपालिकाको सातौं नगरसभा दुईवटा ऐन संशोधन गर्दै सम्पन्न भएको छ । ऐन संशोधन, नगर अस्पतालको डीपीआर नक्सा परिमार्जन गर्दै नलगाड नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो ।

सातौं नगरसभाले नलगाड नगरपालिका–३ का वडाध्यक्ष समाजिक विकास समितिका संयोजक प्रचण्ड वलीले पेस गरेको नगर आधारभूत स्वास्थ्य तथा सरसफाइ ऐन २०७५ को प्रस्तावमा दफावार छलफल गरी पहिलो संशोधन गरेको नलगाड नगरपालिकाले जनाएको छ । विधायन समितिका सदस्य वडा नम्बर २ का वडा सदस्य गोरख खत्रीको प्रस्तावमा नगर विनियोजन ऐन २०७७ मा १ करोड १२ लाख १२ हजार ६ सय ९८ रुपियाँको बजेटलाई थप विनियोजन गर्नुका साथै ८० लाख बजेट विनियोजन गरेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो ।

नगरसभाले विनियोजन गरेको १ करोड १२ लाख १२ हजार ६ सय ९८ रुपियाँ गरी पालिकाको वार्षिक बजेट ५० करोड ९२ लाख १२ हजार ६ सय ९८ पुगेको छ । बजेट अभावमा सम्पन्न हुन नसकेका र तत्काल कार्यान्वयन गर्नुपर्ने २० वटा आयोजनाको नगरसभाले रकमान्तर गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाइ छ ।१५ शैयाको नगर अस्पताल भवनका लागि स्वास्थ्य मन्त्रालयले पठाएको डीपीआर नक्सा परिमार्जन गरी भवन निर्माणका लागि मन्त्रालयलाई अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्