अब विवाह मण्डपमै जन्मदर्ता र नागरिकता



दुर्गाप्रसाद शर्मा, पर्वत ।

बिहे गर्नका लागि मण्डपमा बस्ने पण्डितले पूजा सामग्री तयार गर्न लगाउँछन् र वैदिक विधिले बिहे गराउँछन् । तर, अब पूजा सामग्रीसँगै दुलाहा र दुलहीको जन्मदर्ता र नागरिकतासमेत खोज्न थालिएको छ । परिवारको सहमतिमा बालविवाह गर्ने क्रम नरोकिएपछि पर्वतमा भएको एउटा अन्तरक्रियामा सहभागी पण्डित (पुरोहित)ले विवाहको मण्डपमा नागरिकता र जन्मदार्ता खोज्ने प्रतिबद्धता जनाएका हुन् ।

देशका अन्य जिल्लामा जस्तो बाल र बहुविवाहको अवस्था पर्वतमा भयावह नरहेको भए पनि भएको अवस्थालाई समेत न्यूनीकरण गर्नका लागि प्रहरीले नयाँ अभियान थालेपछि पण्डितहरुले पनि साथ दिने प्रतिबद्धता जनाएका छन् । केटाकेटीको बिहे गर्न भनेर कसैले बोलाए भने अब त त्यहाँ पुगेपछि पहिले केटा र केटीको जन्मदर्ता र नागरिकता नहेरेसम्म बिहे नगराउने उनीहरुको प्रतिबद्धता छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा पण्डितहरुलाई बालविवाह गराउने बाबु, आमा, लमी, पुरोहित वा सहयोगी सबैलाई कसूरअनुसार सजाय हुने, उजुरीको प्रक्रिया र तरिका, बहुविवाहको अवस्थालगायतका बारे जानकारी गराइएको थियो ।उनीहरुले कम उमेरमा विवाह गर्दा हुने शारीरिक, मानसिक तथा कानुनी प्रावधानका बारेमा थाहा पाएका छन् । अहिलेसम्मको जीवनमा सानै उमेरका किशोरीहरुको विवाहको लगन जुराएको भए पनि अब भने लगन जुराउनुअघि उमेरको विषयमा सरकारी निकायले प्रमाणित गरेको कागजात माग्नेछन् । ‘पहिले थाहा नभएर जे–जे भयो भयो ।

अब मैले २० वर्ष नकाटेसम्म केटीको बिहे हुने भए लगन नि जुराउँदिनँ, मण्डपमा पनि जान्नँ’, पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटा घर भएका पण्डित छविचन्द्र पाध्याले भन्नुभयो– ‘पण्डितले यति गर्दिने हो भने केटाकेटीको सानैमा बिहे नहुने रहेछ । कसैले सौता हाल्न पनि नपाउने रहेछ । प्रहरीले धेरै ज्ञान दिनुभयो  ’। पर्वतकै कुस्मा नगरपालिकाका पण्डित सूर्यप्रसाद ढकालले पनि बिहेअगाडि केटाकेटीको उमेर प्रमाणित गरेर मात्र बिहे गराउने वाचा गर्नुभएको छ । यदि २० वर्षभन्दा कम उमेरका किशोरीको विवाह गराए ३० हजार रुपियाँ जरिवाना वा तीन वर्ष जेल वा दुवै सजाय हुन सक्छन् भन्ने कुरा उहाँले थाहा पाउनुभएको छ । आफूले अहिलेसम्म सानै उमेरमा कसैको पनि विवाह नगराएको र अब झनै नगराउने ढकाल बताउनुहुन्छ ।

नेपाली समाजमा मागी विवाह गर्नका लागि पण्डितको उपस्थिति अनिवार्य जस्तै रहेकाले कसले, कहाँ र कति उमेरमा बिहे ग¥यो भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । यही कारण पण्डित वा पुरोहितका माध्यमबाट बालविवाह वा बहुविवाह अन्त्य गर्न सकिने ठानेर पर्वत प्रहरीले पण्डितमार्फत नै यसलाई रोक्नका लागि अभियान थालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । बालविवाहको अन्त्यका लागि यो उपाय प्रभावकारी हुन सक्ने ठानेर आफूहरुले पण्डितहरुलाई भेला पारेर सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्