नयाँ सरकार गठनको दौडधूप शुरु 



मधुसूदन रायमाझी, काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप अगाडि बढेको छ । संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच दौडधूप शुरु भएको हो ।नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ ।
बुधबार नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक छलफल शुरु भएको छ ।

सभापति देउवालाई भेट गर्न प्रचण्ड र नेपाल देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । भेटमा प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि देउवाले पार्टीभित्र छलफल गरेर मात्र जवाफ दिने बताएको देउवाको सचिवालयले बताएको छ ।करिब ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने जवाफ दिनुभएको थियो ।प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बताउनुभयो । उहाँका अनुसार छलफलको प्रक्रियालाई अगाडि बढाउँदै लैजाने नेताहरुबीच समझदारी बनेको छ । यसअघि प्रचण्ड र माधव दुवै नेताले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको थियो ।

सभापति देउवाका स्वकीय सचिवले नेताहरुबीच समसामयिक विषयमा छलफल भएको बताउँदै प्रचण्ड–नेपालले राख्नुभएको प्रस्तावको बारेमा पार्टीमा छलफल गरेर मात्र जवाफ दिने बताउनुभएको छ । ‘प्रचण्ड–नेपालले मिलेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो। सभापतिले दलभित्र छलफल गर्छु भन्नुभएको छ’, देउवाका स्वकीय सचिवले भन्नुभयो– ‘कुनै सहमति भएको छैन, प्रारम्भिक छलफल मात्र भएको हो ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा पुनःस्थापित गर्ने फैसला गरेसँगै राजनीतिक दलहरूले औपचारिक तथा अनौपचारिक छलफलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको कांग्रेसले बिहीबार पदाधिकारीको बैठक बोलाएको छ । पदाधिकारी बैठकबाट पार्टीले लिने नीति तय गर्ने बताइएको छ ।प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनमा सक्रियता देखाएसँगै बुधबार नेकपा ओली समूहको पनि स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाबारे आफूहरुमा केही गम्भीर प्रश्नहरू रहे पनि फैसलालाई सम्मान गर्ने बताउनुभयो ।बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको बताउँदै प्रवक्ता ज्ञवालीले देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । बैठकमा संसद् अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताउँदै उहाँले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय गरेको जानकारी दिनुभयो । संसद् विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिने मात्रभन्दा पनि राजीनामा दिइसकेपछिको अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताउनुभयो ।

बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको जानकारी गराउनुभएको छ । स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसद्मा हुने बताउनुभयो । ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने– ‘अब संसद्भित्रको लडाइँ प्रमुख भएको छ । विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यहीअनुसारको बन्नुपर्छ ।’प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ । पार्टी दुई समूहमा विभाजित भए पनि औपचारिकरुपमा नेकपा विभाजित भएको छैन । हाल नेकपा ओली समूहमा ७८ जना सांसद रहेका छन् । त्यसै गरी प्रचण्ड–नेपाल समूहमा ९६ जना सांसद रहेका छन् । नेकपाका हाल १ सय ७४ जना सांसद रहेका छन् । त्यसै गरी नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले ओली नेतृत्वको नेकपामा लागेका नेता÷कार्यकर्तालाई आफ्नो पार्टीमा फर्किन आह्वान गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा मूल पार्टीमा फर्किन आह्वान गरेको हो ।नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सन्दर्भमा पार्टीको फुटवादी गुटमा लाग्नुभएकाहरुलाई मूल पार्टीमा फर्किन आह्वान गर्ने निर्णय गरेको बताउनुभयो । ‘तत्कालको लक्ष्य प्रतिगमनलाई परास्त गरेर संविधानलाई लिकमा ल्याउने काम सर्वोच्च अदालतल गरेको छ।’ –उहाँले भन्नुभयो । प्रतिगमनविरोधी आन्दोलनमा आफ्ना–आफ्ना ठाउँबाट भूमिका खेल्ने सबैलाई बैठकले आभार व्यक्त गरेको समेत उहाँले बताउनुभयो ।प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गर्नुभएको छ । बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले रहेकै सरकार निरन्तर रहने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलापछि पनि दुःखित नभएको बताउँदै भन्नुभयो– ‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दुःखमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्दा राम्रो हुने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकाले ओलीले कि त प्रतिनिधिसभामा बहुमत पु¥याउनुपर्ने नभए छोड्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा बाँचेकाले खुसी हुनुपर्ने बताउँदै देउवाले कसरी अगाडि बढ्ने भन्ने विषय पार्टीले निर्णय गर्ने बताउनुभयो ।नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताउनुभएको छ । संसद् विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताउनुभएको हो ।

यस्तो छ अंक गणित
प्रतिनिधिसभा पुनःस्थापना भएसँग नयाँ सरकारको गठनका लागि राजनीतिक गृहकार्य अगाडि बढेको छ । त्यसै गरी संसद्मा रहेका राजनीतिक दलका सांसदहरुको समेत जोडघटाउ शुरु भएको छ ।
प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ मात्र सांसद रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको १ सय ७२, नेपाली कांग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद रहेका छन् ।
नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहमा ९१, ओली समूह ८१, वामदेव समूह १ रहेका छन् । नयाँ सरकार गठनमा प्रचण्ड–नेपाल समूह ९१ र कांग्रेसको ६१ जना हुँदा १ सय ५२ जना पुग्छ, जुन संख्या सरकार गठन गर्न पर्याप्त हो । नयाँ सरकार गठन गर्नका लागि हाल रहेका सांसदमध्ये १ सय ३५ जना सांसद पु¥याउनेले बहुमतको सरकार बनाउन सक्नेछ । त्यसै गरी ओली समूह ८१ र कांग्रेस ६१ जना मिल्दा पनि नयाँ सरकार गठन हुने सम्भावना छ । नेकपाका दुवै समूहले नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस नै निर्णायक देखिएको छ ।

–राजीनामा दिन्नँ : ओली
–दिँदा राम्रो : देउवा
–प्रचण्ड–नेपालद्वारा देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव
–सर्वोच्च अदालतको फैसला मान्ने ओली समूहको निर्णय

प्रतिक्रिया दिनुहोस्