बस्ती स्थानान्तरणमा जुटे युवा



भूपराज बस्याल, पर्वत  ।

१५ घर–परिवार रहेको दलित बस्तीलाई जिल्ला विपत् व्यवस्थापन समितिले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न नसक्दा सोही स्थानका २७ वर्षीय युवा निर्भिकनारायण भुर्तेल बस्ती स्थानान्तरणमा जुट्नुभएको छ । ‘द निर्भिक फाउन्डेसन’ नामक संस्था खोलेर उहाँ पैयुँ गाउँपालिका–५ भुर्तेलथोकको आरुगैह्रमा रहेको बस्ती स्थानान्तरणको अभियानमा जुट्नुभएको हो ।

करिब दुई वर्षदेखि बस्ती स्थानान्तरणका लागि पटक–पटक सिफारिस गर्दा पनि कसैको ध्यानाकर्षण हुन नसकेपछि बस्तीमा हुन सक्ने ठूलो क्षति टार्न भुर्तेलले अभियान नै सञ्चालन थाल्नुभएको छ । उच्च जोखिममा रहेको उक्त बस्तीमा गत वर्ष वर्षात्को समयमा पहिरो जान थालेको थियो । पेपरमा जोखिम बस्तीको लिस्टमा परेको र पटक–पटक जोखिम बस्तीको सिफारिस भन्दा अरू केही काम हुन नसकेपछि भुर्तेल उक्त बस्ती निर्माणका लागि आफ्नै जग्गामा बस्ती स्थानान्तरण गर्न लाग्नुभएको हो ।‘मसँग पैसा भएर बस्ती बसाउन लागेको होइन । त्यो जोखिम बस्ती सबैको भोट बैंकका रूपमा प्रयोग हुँदै आयो तर बस्ती स्थानान्तरणका लागि कसैको ध्यानाकर्षण भएन । त्यसैले आफ्नै जग्गामा बस्ती स्थानान्तरण गर्न लागेको हुँ’, भुर्तेल भन्नुहुन्छ– ‘उक्त प्रक्रिया अगाडि बढाउँदै जाँदा संस्थाको आवश्यकता परेपछि फाउन्डेसन बनाएर काम अगाडि बढाएको छु ।’ उहाँले काम गर्ने क्रममा सबैको सहयोगको आश्वासन पाउन थालेपछि यो योजनालाई अलि बृहत रूपमा लैजान योजना रहेको समेत बताउनुभयो । आफ्नै बारीमा उक्त बस्ती स्थानान्तरण गर्न लाग्दा धेरैले सहयोगको आश्वासन दिएपछि अलि बृहत्रूपमा लागेको उहाँ बताउनुहुन्छ ।

१५ घर–परिवारका लागि निर्माण हुन लागेको उक्त आवासका लागि ६० लाख रुपियाँ अनुमान गरिएको छ । ३ लाखसम्मको सहयोग दाता भेटिए सहयोग दाताकै नाममा उक्त घरको नामकरण गर्ने योजनासहित अगाडि बढ्नुभएका भुर्तेलले जोखिम बस्ती स्थानान्तरणका लागि सहयोगको अपिलसमेत गर्नुभएको छ । उक्त बस्ती स्थानान्तरणभन्दा आफ्नो अरू केही उद्देश्य नभएको बताउने भुर्तेल ६० लाख रकम उठेपछि सहयोग लिने काम बन्द गर्ने बताउनुहुन्छ ।आगामी वर्षात्को समयसम्म बस्ती स्थानान्तरण गर्न नसके फेरि दुर्घटना हुन सक्ने सम्भावना भएको हुँदा सहयोगी दाताहरुलाई सक्दो छिटो सहयोग गर्न पनि उहाँको आग्रह छ । सकेसम्म सबै घर नसके कम्तीमा पनि ती घर–परिवार अटाउने घर बनाएर अबको वर्षात्को समयमा बस्ती स्थानान्तरण गर्नुपर्ने फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका भुर्तेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्