सुत्केरीलाई न्यानो कपडा र पोषिलो खानेकुरा



वासुदेव शर्मा, जाजरकोट  । 

जुनीचाँदे गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा, तेल र न्यानो कपडा वितरण गर्ने भएको छ । गर्भवती आमाहरुलाई पोषणयुक्त खानपानबाट स्वास्थ्य अवस्थामा सुधार ल्याउन सामग्री वितरण गर्ने भएको हो ।सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकाका सबै वडाका महिलालाई पोषिलो खानेकुरा तथा न्यानो कपडाका लागि प्रतिव्यक्ति २ हजार ५ सयका दरले रकम वितरण गर्ने जुनीचाँदे गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमका लागि सञ्चालन गर्न १४ लाख ६९ हजार बजेट विनियोजन गरेको गाउँपालिकाले ५ सय ८८ जना सुत्केरी आमालाई रकम वितरण गरेको महिला तथा बालबालिका शाखाका प्रमुख तारा हमाले बताउनुभयो । जाजरकोटको विकट दुर्गम जुनीचाँदे गाउँपालिकाका नागरिकमा गरिबी अशिक्षा चेतनाको अभाव रुढीवादी परम्पराका कारण गर्भवती सुत्केरी महिलाहरुले पर्याप्त मात्रामा पोषणयुक्त खानपान नपाउने छाउ बार्ने चलन कायम रहेको छ । अशिक्षा र बेरोजगारीले गर्दा पोषिलो खानेकुरा नपाउँदा आमा र शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अकालमा ज्यान जाने गरेको छ ।आमा र शिशुको स्वास्थ्य अवस्था सुधार गरी पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सुत्केरी महिलालाई सामग्री वितरणको कामलाई निरन्तरता दिएको जुनीचाँदे गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख तारा हमालले बताउनुभयो ।

सुत्केरी महिलाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य बताउनुहुन्छ । आर्थिक अभावका कारण सुत्केरी अवस्थामा पोषणयुक्त खाना नपाउँदा आमा र नवजात शिशुमा रोग प्ररोधात्मक शक्ति कमजोर हुनुका साथै बालबालिका कुपोषणको शिकार हुन थालेपछि पोषणको मात्रा बढाउन गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको कार्यवाहक अध्यक्ष आचार्यले बताउनुभयो ।गाउँपालिकाको ढिलासुस्तीले गर्दा समयमा सुत्केरीले रकम पाउन नसकेको स्थानीयले गुनासो छ । गाउँसभाले सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमका लागि बजेट विनियोजन गरेको भए पनि गत साउनदेखि सुत्केरी भएका महिलाले रकम पाउन सकेका छैनन् ।

महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक हमालले केही दिनमै रकम निकासा गरेर सुत्केरी आमालााई साउनदेखि यता सुत्केरी भएका सवै आमालाई २ हजार ५ सयका दरले विशेष सुत्केरी भत्ता प्रदान गर्ने शाखा प्रमुख हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्