कार्यशालाका पत्रकारलाई पुरस्कार



चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हालै राजधानीमा तीनदिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला आयोजना गरेको छ। गत बिहीबारबाट चावहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा शुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको हो। कार्यशालामा ४० बढी पत्रकार सहभागी थिए।

संघका केन्द्रीय अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिकामा खेलेको बताए। अध्यक्ष दाहालले सहभागीमध्ये उत्कृष्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले वार्षिकोत्सवको दिन पुरस्कृत गर्ने घोषणा पनि गरे।

त्यसै गरी, संघले प्रशिक्षार्थीमध्येबाट उत्कृष्ट फोटो खिच्ने मध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरेको छ। कार्यशालामा हरि न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काप्mले, दिनेश डिसी, दीपक गुरुङ, दिलीप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीका बारेमा प्रशिक्षण दिएका थिए। फोटोग्राफी र भिडियोग्राफीमा रुचि भएका चलचित्र पत्रकारका लागि कार्यशाला उपयोगी बनेको संघका महासचिव समीर बलामीले दाबी गरे। कार्यक्रमको संयोजन संघका संगठन उपाध्यक्ष कुवेर डंगोलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्