शिवालिक क्षेत्रमा प्याराग्लाइडिंगको सफल उडान



घनश्याम बगाले, नवलपरासी  ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ बालुवा डाँडामा बिहीबार प्याराग्लाईडिंगको सफल उडान भएको छ ।
पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महाभारत पर्वत श्रृंखलाको दक्षिणस्थित शिवालिक पहाडदेखि भित्री मधेसको पोखरी तालसम्म पाइलटहरूले प्याराग्लाईडिंगको सफल उडान भरेका हुन् ।

क्लाउडबेस प्याराग्लाईडिंग कम्पनी पोखराका पाईलट हरि थापाले परीक्षणका क्रममा पहिलो उडान भरेका थिए ।परीक्षणका क्रममा दोश्रो र तेस्रो उडान पाईलट हरि पहारी र सुरेश नेपालीले आफ्ना सहकर्मीका साथ गरेको सम्पन्न गरेका थिए ।पाइलट हरि पहारीले नेपाल समाचारपत्रसँग कुरागर्दै तराईको गर्मी हावापानीमा पनि बालुवा डाँडा क्षेत्र प्याराग्लाईडिंगका लागि उपयुक्त रहेको बताए ।पहारीले हावाको राम्रो बहाव रहेको यस क्षेत्रमा व्यावसायिकरूपमै प्याराग्लाईडिंग गर्न सकिने बताएका छन् ।प्याराग्लाईडिंगका लागि बालुवा डाँडा पर्यटन विकास युवा सञ्जालको समन्वयमा क्लाउडबेसले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट फागुन ६ देखि ११ गतेसम्म २ हजार ५ सय ३८ फिट उचाइको उडान अनुमति पाएको जनाइएको छ ।

युवा सञ्जालका अध्यक्ष सुरेश रानाले बालुवा डाडामा प्याराग्लाईडिंगको परीक्षण उडानले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको बताए ।बाह्रै हावा चलिरहने ९ सय ६४ मिटर उचाइमा रहेको बालुवा डाँडा क्षेत्र तराईका फाँटहरूको दृश्यावलोकनका लागि परिचित सुन्दर हरियाली पहाड हो । पूर्व–पश्चिम राजमार्गबाट करिब ११ किमीको दूरीमा रहेको वालुवाडाडाको तल्लो भागमा प्राचिन महाराजा मन्दिर र ऐतिहासिक पोखरीतालको मैदानी क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्