विवाहकै दिनमा रक्तदान गर्दै दम्पतीले बच्चीको ज्यान जोगाए



नयाँदिल्ली, (एजेन्सी) ।

भारतको उत्तर प्रदेशका एक दम्पतीले विवाहकै दिन अत्यन्तै प्रशंसनीय काम गरेका छन् । तिनीहरू दुवैले एकजना बालिकाको ज्यान जोगाउन रक्तदान गरेका छन् । यसबारे विस्तृत विवरण उत्त प्रदेशका आशिष मिश्रा नामक एक प्रहरीले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

मिश्राको ‘प्रहरी मित्र’ नामक संस्थाले आवश्यक परेका व्यक्तिहरूलाई रक्तदाताहरूसँग भेट गराउने काम गर्दछ । यसै संस्थामार्फत नवविवाहितले पुण्यको काम गर्ने मौका पाएका हुन् ।मिश्राले ट्विटरमा वैवाहिक पोसाकमै रक्तदान गरिरहेका दम्पतीका तस्वीर पोस्ट गर्दै तिनीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । तस्वीरमा रक्तदान गरिरहेका आफ्ना पति छेउमा वैवाहिक पोसाक लेहेंगामा सजिएकी दुलही उभिरहेकी देखिन्छन् । मिश्रोले ट्विटरमा हिन्दी भाषामा लेखेका छन्, ‘मेरो भारत महान् छ । एउटी सानी फुच्चीलाई रगतको अत्यन्तै जरूरी थियो तर कोही अगाडि आएनन् किनभने उनी कोही परायाकी बच्ची थिइन् । यस्तो बेला परिचय नखुलाएका एक दम्पतीले उनको ज्यान जोगाउन विवाहकै दिनमा समेत रक्तदान गरे ।’

सामाजिक सञ्जालमा ती दम्पतीको कामलाई प्रशंसा गर्नेहरू ओइरिएका छन् । साथै, तिनीहरूलाई विवाहको उपलक्ष्यमा शुभकामना, बधाई र आशिर्वादको पनि बर्षात् भइरहेको छ । बिरामीहरूका ज्यान जोगाउने उद्देश्यले आशिष मिश्राले सन् २०१७ मा यो संस्थाको शुरुआत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्