अम्बानी परिवारले विश्वकै सबैभन्दा ठूलो चिडियाखाना बनाउने



नयाँदिल्ली, (एजेन्सी) ।

भारतको सबैभन्दा धनी अम्बानी परिवारले पश्चिमी भारतमा विश्वकै सबैभन्दा ठूलो चिडियाघर र पशुपंक्षी उद्धार केन्द्र निर्माण गर्ने योजना बनाएको छ । चिडियाखाना बनाउने अर्बपति मुकेश अम्बानीका कान्छो छोरो अनन्त अम्बानीको मनपर्ने परियाजना भएको बताइएको छ ।

आइतबार भारतमा पशु अधिकारवादी अभियन्ताहरूले दुईवटा कालो चितुवा एउटा सरकारी चिडियाखानाबाट रिलायन्सको नियोजित निजी चिडियाखानामा सारिएकोमा विरोध प्रदर्शन गरेका थिए । निकै विलाशितापूर्ण जिवनशैलीका लागि पनि चिनिने भारतको सबैभन्दा धनी तथा भारतका अधिकांश मूल्यवान कम्पनीका मालिक अम्बानी परिवारको विश्वकै सबैभन्दा ठूलो चिडियाखाना बनाउने नयाँ साहसिक कदम हो ।

रिलायन्स औद्योगिक समूहहरूको मालि अम्बानी परिवारको कुल सम्पत्ति एक सय ६८ अर्ब अमेरिकी डलर रहेको छ । यस परिवारले पश्चिमी भारतीय शहर जामनगरमा दुई सय असी एकड क्षेत्रफल जमिनमा सो चिडियाखाना र ‘हरित जैविक उद्धार तथा पुनरूद्धार अधिराज्य’ निर्माण गर्ने योजना बनाएको दि विक म्यागजिनले जनाएको छ । रिलायन्स समूहमा सबैभन्दा बढि सेयर हुने मुकेश अम्बानीको निजी कुल सम्पत्ति ७८ दशमलव तीन अर्ब डलर रहेको छ । फोब्र्स पत्रिकाका अनुसार उनी विश्वका बाह«ौं सबैभन्दा धनी व्यक्ति हुन् ।

२५ वर्षीय अनन्त रिलायन्सको टेलिकम व्यापार जियोका बोर्ड सदस्य पनि हुन् । दि विकका अनुसार चिडियाखाना जामनगरस्थित कम्पनीको प्रशोधनशाला नजिक निर्माण गरिनेछ । सो चिडियाखानामा भारतलगायत विश्वका विभिन्न मुलुकबाट ल्याइएका झन्डै एक सय प्रजातिका जनावर, पंक्षी र सरिसृप राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्