संसद् पुनर्स्थापना गर्ने निर्णयको राजनीतिक दलद्वारा स्वागत



मधुसूदन रायमाझी, काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई राजनीतिक दलहरुले ऐतिहासिक फैसला भएको बताएका छन् । राजनीतिक दलहरुले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक्रिया दिएका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि दुई महिना बहस भएको थियो । अदालतले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै संसद् पुनस्र्थापनको फैसला गरेसँगै राजनीतिक दलहरु उत्साहित भएका छन् ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपीशर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद् पुनस्र्थापना गर्न आदेश दिएपछि चितवनमा रहनुभएका प्रचण्डले तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको हो । प्रचण्डले भन्नुभयो–‘राजीनामा नदिएर अझै अर्को नौटंकी गरे ओलीको दुर्गति हुन्छ ।’ प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताउँदै प्रतिगमनकारी केपी ओलीसँग तत्काल सहकार्य हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली जनताले आफै लेखेको संविधानको जित भएको छ । अदालतप्रति जनआस्था सुदृढ भएको छ ।’

अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले संसद् पुनस्र्थापनाको फैसालसँगै एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेर खुसीयाली मनाउनुभएको छ ।
त्यसै गरी अर्का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताउनुभयो । उहाँले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्र बलियो बनाएको बताउनुभयो । सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा रहनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न उहाँहरु भरतपुर पुग्नुभएको थियो । तर संसद् पुनस्र्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी रहेको बताउँदै उहाँले सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावनाअनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएको बताउनुभयो । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई अध्यक्ष नेपालले बधाई दिनुभयो ।

त्यसै गरी नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गर्नुभएको हो । सभापति देउवाले सरकारले चालेको कदमलाई शुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमका रुपमा दिएको बताउनुभयो ।गत पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो । पार्टीले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । ‘नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ।’ –देउवाले भन्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री केपीओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो । सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो बनाएको छ ।’नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताउनुभयो । उहाँले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशनसमेत बोलाउन आदेश दिएकाले सही भएको प्रतिक्रिया दिनुभयो ।यसैबीच नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभए पनि स्वीकार गर्ने बताउनुभएको छ । ‘देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं।’–उहाँले भन्नुभयो।

नेपाली भष्मासुरको बध

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयप्रति खुसी व्यक्त गर्नुभएको छ । हाल भारतमा उपचारका लागि रहेका भट्टराईले अस्पतालबाट ट्वीट गर्दै सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भएको प्रतिक्रिया दिनुभएको छ । ‘कस्तो सुखद संयोग, अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर बध गरेझैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भो।’ –उहाँले भन्नुभएको छ ।

‘अदालतलाई बधाई छ’


त्यसै गरी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सही ट्र्याकमा हिँड्ने बताउनुभएको छ । ‘सर्वोच्च अदालतको फैसला नेपाली जनताको भावना, संविधानको मर्मअनुसार रहेको छ, यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ।’ –उहाँले भन्नुभयो । उपाध्यक्ष गौतमले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सही दिशा दिनुपर्छ भन्दै दुवै समूहलाई मिलाउन भूमिका खेल्ने बताउनुभयो ।

संविधानवादको जित भयो


सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले देश र जनताको पक्षमा सर्वोच्च अदालतले गरेको निर्णय सकारात्मक भएको बताउनुभएको हो । अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढेर गएको छ ।’ –उहाँले भन्नुभयो ।
जनता र संविधानवादको जित भएको बताउँदै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महŒवपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्