‘अबको विकल्प जनताको लोकतन्त्र’ पुस्तक लोकार्पण



न्युज अफ नेपाल,काठमाडौं ।

कम्युनिस्ट आन्दोलनमा लामो समय लाग्नुभएका कमल निओलद्वारा लिखित ‘अबको विकल्प जनाताको लोकतन्त्र’ नामक पुस्तक मंगलबार लोकार्पण भयो । प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको उक्त लोकार्पण कार्यक्रमको सञ्चालन भरत सुवेदीले गर्नुभएको थियो भने टपटेन खबर तथा आमूल परिवर्तन मासिकका प्रधान सम्पादक नन्दलाल खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

लेखक स्वयंको सभापतित्वमा भएको सो कार्यक्रममा लोकार्पित पुस्तक राजनीतिक बजारमा बहसको विषय बन्नेमा विवेचना गरिएको थियो । पुस्तकको बारेमा लेखक कमल निओलले संक्षिप्त जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘जनाताले अहिलेसम्म लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन् । लोकतन्त्रमा समानता, न्याय, स्वतन्त्रता र शान्ति अपरिहार्य छ ।यस्ता तत्वहरुविना जनताको लोकत्रन्त्र पूर्ण हुँदैन । दलाल पुँजीवादी राज्य व्यवस्था नफ्याँकेसम्म यस्तो लोकत्रन्त्र प्राप्त गर्न सम्भव छैन ।

त्यसको लागि गोलबन्द हुनुपर्दछ ।’कार्यक्रममा वैज्ञानिक समाजवादी संयोजक आहुतिले अबको विकल्प लोकत्रन्त्र नभई वैज्ञानिक समाजवाद हो भन्नुभयो । नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्यले पुस्तकप्रति आलोचनात्मक टिप्पणी गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

लोकापर्ण कार्यक्रममा विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन विधिको शासनमा हिँड्न जरुरी छ र राज्यका संस्थाहरुलाई बलियो नबनाई लोकतन्त्र बलियो हुन सक्दैन भन्ने विचार व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको पहरेदार गर्ने व्यक्तिले नै लोकतन्त्रको धज्जी उडाएका छन्, त्यो ज्यादै दुःखको कुरा हो भन्नुभयो । सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी.ले ३० वर्षमा पञ्चायती व्यवस्थाले गरेको भन्दा कैयाैँ गुणा अहिलेका शासकहरुले राज्यको दोहन गरेको कुरा औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्